Kathmandu Press

दुई पक्षीय हवाई सम्झौता गर्न रुवान्डाका राजदूतको प्रस्ताव

काठमाडौं, मंसिर २६ : रुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकांगिराले नेपाल र रुवान्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राखेका छन्। संस्कृति, पर्यटन तथा नागरिक...
दुई पक्षीय हवाई सम्झौता गर्न रुवान्डाका राजदूतको प्रस्ताव

काठमाडौं, मंसिर २६ : रुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकांगिराले नेपाल र रुवान्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राखेका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकांगिराले नेपाल र रुवान्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गरेका हुन्।

भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गरिए पर्यटन प्रवर्धननमा फाइदा हुने भएकाले उक्त सम्झौता गर्न आवश्यक रहेको बताए। उनले भने, ‘रुवाण्डाका पर्यटक भित्र्याउन भए पनि नेपाल र रुवान्डाबीच हवाई सम्झौता गर्नु आवश्यक छ, यो सम्झौताले दुई देशको मित्रता पनि थप कायम हुनेछ।’ सोही भेटका क्रममा राजदूत मुकांगिराले संस्कृति तथा पर्यटन क्षेत्रमा दुई पक्षीय सहयोग आदानप्रदान गर्न आग्रह गरे।

राजदूत मुकांगिराले राखेको दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्तावबारे मन्त्री आलेले सकारात्मक रुपमा लिइएको र औपचारिक माध्यमबाट उक्त प्रस्तावको प्रक्रिया अगाडि बढाइने बताए। उनले भने, ‘दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्ताव हामीले सकारात्मक रुपमा लिएका छौं, औपचारिक माध्यम तथा छलफलबाट प्रक्रिया अगाडि बढाउनेछौं।’

उक्त शिष्टाचार भेटका क्रममा मन्त्रालयका सचिव महेश्वर न्यौपाने तथा सहसचिव बुद्धिसागर लामिछानेको सहभागिता थियो। 
–––

प्रकाशित मिति: १५:५० बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्