Kathmandu Press

कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय साढे एक घण्टा थप 

यसअघि उम्मेदवारी फिर्ता लिन आइतबार बिहान ११ बजे सम्मको समय तोकिएको थियो। समय थप गरिएसँगै अब उम्मेदवारी फिर्ता लिन साढे १२ बजेसम्मको समय निर्धारण भएको छ। 
कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय साढे एक घण्टा थप 

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उम्मेदवारी फिर्ता लिने समय थप गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय साढे एक घण्टा थप गरेको हो। 

यसअघि उम्मेदवारी फिर्ता लिन आइतबार बिहान ११ बजे सम्मको समय तोकिएको थियो। समय थप गरिएसँगै अब उम्मेदवारी फिर्ता लिन साढे १२ बजेसम्मको समय निर्धारण भएको छ। 

त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै सोमबार बिहान ८ बजेदेखि निर्वाचन शुरु हुने कार्यतालिका छ। 

निर्वाचन समितिले शनिबार राति उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो। जसमध्य सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने रहेका छन् । 

त्यस्तै २ महामन्त्री पदका लागि डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी परेको छ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी गरेको निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ । यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन गराएका छन् 

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खस आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।  

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। 

प्रकाशित मिति: ११:२५ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्