Kathmandu Press

नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने रामचन्द्र पौडेलको घोषणा (विज्ञप्तिसहित) 

काठमाडौँ, मंसिर २५ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेका छन्।पार्टीको महाधिवेशन केवल व्यक्तिको...
नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने रामचन्द्र पौडेलको घोषणा (विज्ञप्तिसहित) 

काठमाडौँ, मंसिर २५ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेका छन्।

पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै उनले पार्टीभित्र अहिले देखिएको परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन्। 

प्रेस विज्ञप्ति जारी गर्दै उहाँले पार्टीका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई यो दिशामा आफ्नो ध्यान लगाउन तथा सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रहसमेत गरेका छन्। नेता पौडेलले भने, ‘मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिए, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ।’ उनले पार्टी सत्ताको भ¥याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले आदर्श र मूल्यका लागि जीवनभर सङ्घर्ष गरेको स्मरण पनि गरेका छन्।

चौधौँ महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नु पर्ने अवस्थामा पुगेको स्मरण गराएका छन्। उनले एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनैरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

‘लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउनेछन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ । प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान् साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु।’

प्रकाशित मिति: १५:५३ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्