बालुवाटारमा संस्थापन पक्षको बैठक, पदाधिकारीमा उम्मेदवारको टुंङ्गो लगाइने
पार्टी सभापतिका लागि प्रधानमन्त्री शेर बहादुर देउवाको उम्मेदवारी पक्का भइसकेको छ। शुक्रबारको उद्घाटन समारोहमा बोल्दै देउवाले पुनः एकपटक सभापतिमा जिताइदिन सम्पूर्ण प्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि विभिन्न पदाधिकारीमा उम्मेदवार चयन गर्नका लागि संस्थापन पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहानैदेखि संस्थापन पक्षका शीर्ष तथा दास्रो पुस्ताका नेताहरु छलफलमा जुटेका हुन्।
शुक्रबार महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भइसकेको छ। कार्यसूचीका अनुसार आज उम्मेदवारी दर्ता गर्ने दिन हो । उम्मेदवारी दर्ता मनोनयनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
सोही कारण पदाधिकारीमा सहमति जुटाउनका लागि संस्थापन पक्ष बैठकमा जुटेको हो। पार्टी सभापतिका लागि प्रधानमन्त्री शेर बहादुर देउवाको उम्मेदवारी पक्का भइसकेको छ। शुक्रबारको उद्घाटन समारोहमा बोल्दै देउवाले पुनः एकपटक सभापतिमा जिताइदिन सम्पूर्ण प्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।
पदाधिकारीमा भने कसलाई मनोनयन गर्ने भन्ने निर्णय भइसकेको छैन । उपसभापतिमा यसअघि नै उपसभापति रहेका विजयकुमार गच्छादार र महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरिरहेका छन्।
त्यस्तै दुई महामन्त्री पदमा भने ४ जनाको दाबी छ। गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्री प्रकाशशरण मत, नेता एनपी साउद, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन्।
त्यस्तै ८ सहमहामन्त्रीमा पनि सहमति जुटाउन देउवालाई निकै कठिन देखिएको छ । आठ जना सहमहामन्त्रीमा सबै जना क्लस्टरबाट छानिने छन्। सहमति जुटाउनकै लागि सहमहामन्त्रीको पद संख्या थप गर्ने विषयमा बिहीबार केन्द्रीय समिति बैठकमा छलफल भएपनि निष्कर्ष भने आएको छैन।











