संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको विजय आवश्यक छ : उपसभापति निधि

काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा विजयी हुनुपर्ने बताएका छन।
पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै आज उनले आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाउन पार्टी बलियो हुनुपर्ने र त्यसका लागि नेतृत्व लाग्नुपर्नेमा जोड दिए। उपसभापति निधिले कांग्रेसको नेतृत्वमा मुलुकको द्वन्द्व समाधान भई शान्ति प्रक्रिया कायम भएको, राज्यको पुनसंरचना गरिएको र संविधानसभाबाट संविधान जारी गरिएको विषयलाई कांग्रेसले गौरवका साथ आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गरे। '१४औँ महाधिवेशनमा सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गरौँ, नसके स्वच्छ प्रतिस्पर्धा गरौँ,'उनले भने।
अर्का उपसभापति विजयकुमार गच्छदारले कांग्रेसभित्र मेलमिलाप र एकता भएन भने कम्युनिष्टसँग मुकाविला गर्न नसक्ने बताए। उनले कांग्रेस एक भए मात्र आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीलाई परास्त गर्न सकिनेमा जोड दिए। उनले पार्टीका नेताबीच प्रतिशोधपूर्ण प्रतिस्पर्धा नभई एकता कायम हुनुपर्ने उल्लेख गरे। 'विगतमा कांग्रेस विभाजन भएसँगै मुलुकको प्रजातान्त्रिक व्यवस्था लथालिङ्ग र उथलपुथल बन्न पुग्यो, अब हामी एक भएर अगाडि बढ्नुपर्छ,' उनले भने।
पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र केन्द्रदेखि वडासम्म एकता कायम राख्नुपर्ने बताए। उनले पार्टीमा भावनात्मक एकता र युवामा ऊर्जा निर्माण गर्नु आजको आवश्यकता रहको उल्लेख गरे। 'लोकतान्त्रिक शासन व्यवस्था र यसको मूल्यमान्यतामाथि चुनौती देखिएको छ, आगामी निर्वाचन कांग्रेस सरकारको नेतृत्वमा निष्पक्ष र स्वतन्त्र बनाएर विद्यमान चुनौतीलाई पन्छाउनुपर्छ, त्यसका लागि परिवर्तन र सुधार आफैँबाट गरेर जनतामा जानुपर्छ,' उनले भने।











