कांग्रेसको एकमना सरकार बनाउनतर्फ सबैको ध्यान जानुपर्छ : निधि
कांग्रेस नेतृत्वको वर्तमान सरकार बन्नुअघिको साढे तीन वर्षे कम्युनिस्ट सत्ताका कारण राज्यको सबै अंग क्षतविक्षत बनेको उनले बताए।काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महाधिवेशनपछि एकताबद्ध भएर आगामी निर्वाचनबाट सबै तहमा कांग्रेसलाई विजयी गराउन र कांग्रेसको एकमना सरकार बनाउनतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन्।
कांग्रेस १४औं महाधिवेशनको उद्घाटन समारोहमा बाेल्दै उनले कांग्रेसको नेतृत्वमा मात्र संविधानको कार्यान्वयन, राष्ट्रको परिवर्तन सम्भव हुने भएकाले कांग्रेसको सरकार बन्नु आवश्यक रहेको बताए। कांग्रेस नेतृत्वको वर्तमान सरकार बन्नुअघिको साढे तीन वर्षे कम्युनिस्ट सत्ताका कारण राज्यको सबै अंग क्षतविक्षत बनेको उनले बताए।
नयाँ संविधानमार्फत संघीय गातन्त्रात्मक शासन व्यवस्था, समाजवाद, संघीयता, अहिंसा, शान्ति, नयाँ राजनीतिक प्रणाली बनेको उल्लेख गर्दै उनले पार्टीको १४औं महाधिवेशनको सार्थकता र सफलताले ती सबै कुरालाई सार्थक बनाउन ऊर्जा मिल्ने बताए।
महाधिवेशनपछि फर्केर सबै नेताकार्यकर्ता केही समयपछि हुन लागेको तीनै तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने उनले बताए। संविधानको सफल कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको अभिभारा भएको उनले बताए।
हिंसात्मक द्वन्द्वबाट नेपाललाई बचाउने, राज्यको पुनसंरचना गर्ने र मुलुकलाई नयाँ संविधान दिने काम नेपाली कांग्रेसको अगुवाइमा भएको हुँदा यी विषयलाई गर्वका साथ आत्मसात र सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए।
संविधानमा भएका त्रुटि हटाउँदै, आवश्यक परिमार्जन गर्दै, युवापुस्तालाई राजनीतिक र आर्थिक प्रक्रियामा सहभागिता गराउँदै अनि हिमाल, पहाड, तराई, मधेलाई जोडेर, महिला, खसआर्य, दलित, जनजाति, मुस्लिम, अल्पसंख्यक, तेस्रोलिंगी सबैलाई समेटेर कांग्रेस अघि बढ्नुपर्ने उनको भनाइ थियो।
निर्दलवादी, राजावदी, साम्यवादी उग्रवादी दक्षिणपन्थी कसैले देशको शान्ति, सुव्यवस्था, विकास कायम गर्न नसकेकोले कांग्रेसले नयाँ शक्तिर उर्जा निर्माण गर्नुपरेको उनको भनाइ थियो।
उनले सर्वसम्मति र निर्विरोध रूपमा नेतृत्व चयन हुनुपर्नेमा पनि जोड दिए। तर प्रतिस्पर्धा हुने अवस्थामा एक उम्मेदवार आफू पनि भएको उनले बताए।
मैत्रीपूर्ण प्रतिस्पर्धालाई सबैले ख्याल गर्नुपर्ने पनि उनले बताए। लोकतन्त्रमा विश्वास गर्ने एउटै पार्टी कांग्रेस भएकाले आन्तरिक प्रतिस्पर्धालाई पनि मैत्रीपूर्ण रूपमा सफल बनाउनुपर्ने धारणा उनले व्यक्त गरे।











