Kathmandu Press

‘कांग्रेसले अरुका नीतिमा  हिँड्ने होइन, अरुलाई आफ्नो नीतिमा हिँडाओस्’

केही दलहरुले सरकारमा जान कांग्रेसको औंला समाए पनि कांग्रेसले छाडिदिए उनीहरुको बिजोग हुने उनको भनाइ थियो। अहिले कांग्रेससँग मिलेर सरकार चलाइरहेका पार्टीहरुलाइ हट्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको उनले बताए। 
‘कांग्रेसले अरुका नीतिमा  हिँड्ने होइन, अरुलाई आफ्नो नीतिमा हिँडाओस्’

काठमाडाैं, मंसिर २४ : एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले अरुका नीतिमा नहिँडेर अरुलाई आफ्नो नीतिमा हिँडाउनुपर्ने बताएका छन्। 

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै उनले देश बनाउने काममा कांग्रेस र एमाले सधैं सँगसँगै रहेको बताए। 

केही दलहरुले सरकारमा जान कांग्रेसको औंला समाए पनि कांग्रेसले छाडिदिए उनीहरुको बिजोग हुने उनको भनाइ थियो। अहिले कांग्रेससँग मिलेर सरकार चलाइरहेका पार्टीहरुलाइ हट्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको उनले बताए। 

घाम अस्ताउनुभन्दा पहिले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देवाको पालो आउनुपर्ने भन्दै मन्तव्य थालेका उनलेृ शुभकामना दिन आएकाले कसैको प्रतिवाद नगर्ने बताएका उनले राजनीतिक भाषणका लागि आफूलाई मञ्चहरुको कमी नभएको बताए।

नेपाल जहाँ थियो त्यही नभएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले नेपालको समुन्नतिका एमाले कांग्रेससँग मिलेर बढ्न तयार रहेको बताए। एमालेलाई एक्लै हिँड्ने रहर नभएको उनको भनाइ थियो।

देशको राजनीति सुधार्ने, अर्थतन्त्रको विकास गर्ने जिम्मेवारी कांग्रेस र एमालेकै काँधमा रहेको उनको भनाइ थियो। त्यसक्रममा उनले अरु कुनै पार्टीको नाम लिएनन्।

राणाशासन ढाल्न, राजतन्त्र समाप्त पार्न, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कांग्रेस र एमालेले सँगै मिलेर लडेको पनि उनले स्मरण गरे।  

देशमा सुशासन कायम गर्न, लोकतन्त्र बचाउन, नेपाली जनतालाई सामाजिक न्याय र समानताको प्रत्याभूति दिन कांग्रेस र एमाले एकसाथ अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए।     

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्