प्रचण्डको प्रश्न– गाउँमा नेता आउँदा 'चोर आए' भन्छन् भन्ने साँचो हो? कार्यकर्ताको जवाफ– हो
सम्बोधन गर्न आएका प्रचण्डले शुरुवातमै कांग्रेस महाधिवेशनमा थुप्रै पूर्वप्रधानमन्त्रीको उपस्थिती देखेर भारतीय राजनीतिक दलका प्रतिनिधिहरु आश्चर्यमा परेको बताए । उनले सबै जना पूर्वप्रधानमन्त्रीहरु एकले अर्कालाई बनाएको भनेर आफ्नो तारिफ गरे।काठमाडौं, मंसिर २४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गरे । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्षको हैसियतले कांग्रेसको महाधिवेशनमा शुभकामना सन्देश दिन पुगेका प्रचण्ड बोल्दै गर्दा मञ्च र कार्यक्रमस्थलमा केही अनौठो दृश्य देखियो ।
राप्रपा नेपालका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजनीतिक दलका नेताहरुलाई गाउँमा कसैले विश्वास नगर्ने बताएका थिए । राजनीतिक दलका नेताहरु गाउँमा पुग्दा जनताले ‘चोर आयो’ भन्दै लखेट्ने सम्म भन्न भ्याए ।
त्यसपछि सम्बोधन गर्न आएका प्रचण्डले शुरुवातमै कांग्रेस महाधिवेशनमा थुप्रै पूर्वप्रधानमन्त्रीको उपस्थिती देखेर भारतीय राजनीतिक दलका प्रतिनिधिहरु आश्चर्यमा परेको बताए । उनले सबै जना पूर्वप्रधानमन्त्रीहरु एकले अर्कालाई बनाएको भनेर आफ्नो तारिफ गरे।
त्यसपछि प्रचण्ड राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लगाएको आरोपको खण्डन गर्न लागे । लिङ्देनलाई इंगित गर्दै प्रचण्डले महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित भएका कार्यकर्ताहरुलाई सोधे ‘एकजना वक्ताले नेताहरु गाउँघरमा पुगे भने चोर आयो भन्छन्, भन्नुभयो तपाईँहरुले सुन्नुभयो । के यो साँचो हो त साथीहरु ?’
प्रचण्डको प्रश्नमा भीडबाट जवाफ आयो–‘हो’ । प्रचण्डले दोहोर्याएर सोधे– ‘साँच्चै हो ?’ भीडबाट फेरि जवाफ आयो– ‘हो’ । भीडबाट त्यस्तो जवाफ आएपछि पचण्ड सम्हालिँदै खण्डनतर्फ लागे ।
‘विल्कुल होइन’ उनले भने, ‘जतिबेला लोकतन्त्रको निम्ति संघर्ष गरेका शान्तिका निम्ति लडेका राजनीतिक दल र नेताहरुलाई बदनाम गर्न खोजिन्छ त्यहाँ निरंकुशता र तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्नुपर्छ ,’ कहीँ न कहीँ तानाशाही त्यसरु नै आउने गर्दछ ।











