Kathmandu Press

कांग्रेस महाधिवेशन इतिहास : कोलकातादेखि भृकुटीमण्डपसम्म

७५ वर्षको इतिहास बोकेको कांग्रेसले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका अनेकन् आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। स्थापनादेखि आजसम्म आइपुग्दा कांग्रेसले १३ वटा महाधिवेशन सम्पन्न गरिसकेकाे छ भने १४औं आज सुरु भई केही दिनमा सम्पन्न हुनेछ। 
कांग्रेस महाधिवेशन इतिहास : कोलकातादेखि भृकुटीमण्डपसम्म

काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार) काठमाडाैंकाे भृकुटीमण्डपमा सुरु हुँदैछ। यो महाधिवेशनले आगामी पाँच वर्ष कांग्रेस हाँक्ने नयाँ नेतृत्व चयन गर्नेछ। 

७५ वर्षको इतिहास बोकेको कांग्रेसले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका अनेकन् आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। स्थापनादेखि आजसम्म आइपुग्दा कांग्रेसले १३ वटा महाधिवेशन सम्पन्न गरिसकेकाे छ भने १४औं आज सुरु भई केही दिनमा सम्पन्न हुनेछ।    

कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा २००३ माघ १२ र १३ गतेमा भएको थियो।  सो महाधिवेशनमा टंकप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति भएका थिए।

कांग्रेसको दोस्रो महाधिवेशन बनारसमा २००४ माघ २० र २१ गते भएको थियो भने बिपी कोइराला सभापति निर्वाचित भएका थिए।

यसैगरी तेस्रो महाधिवेशन भारतकै दरभंगमा २००५ फागुन १८ देखि २० गतेसम्म भई मातृकाप्रसाद कोइराला सभापति भएका थिए। भारतकै कोलकातामा २००६ चैत २६ र २७ गते भएको चौथो महाधिवेशनमा सभापतिमा मातृकाप्रसाद कोइराला पुनः सभापति बनेका थिए।

कांग्रेसको पाँचौं महाधिवेशन जनकपुरमा भएपछि बिपी कोइराला पुनः सभापतिमा निर्वाचित भएको कांग्रेसको इतिहास छ।

वीरगन्माज २०१२ माघ ९ देखि १३ गतेसम्म भएको छैटौं महाधिवेशनमा सुवणर्शम्शेर राणा सभापति हुनुभएको थियो भने सोही अवधिमा २०१४ जेठ १० देखि ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनमा बिपी कोइराला सभापति भएका थिए।

२०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौंमा भएको सातौं महाधिवेशनमा बिपी कोइराला नै सभापतिमा निर्वाचित भएका थिए। २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएका थिए।

यसैगरी २०५३ वैशाख २६ देखि ३० गतेसम्म काठमाडौंमा भएको नवौं महाधिवेशन, २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको १०औं महाधिवेशन र काठमाडौंमै विसं २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला लगातार तीनपटक सभापति भएका थिए।

कांग्रेसको २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा भएको १२औं महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भएको थियो भने वर्तमान पार्टी सभापति देउवा २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमै भएको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको हुन्।

प्रकाशित मिति: ११:५९ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्