Kathmandu Press

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : ठाउँठाउँमा डाइभर्सन, ३५० ट्राफिक प्रहरी परिचालन

उद्घाटन समारोहका बेला आज हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्रााफिक मात्रै ३५० बढी परिचालन गरिएको जानकारी दिनुभयो । नियमित ड्युटीमा रहने प्रहरी यथावत रहनेछन्।
कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : ठाउँठाउँमा डाइभर्सन, ३५० ट्राफिक प्रहरी परिचालन

काठमाडौं, मंसिर २४ :  नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदै छ। महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा उद्घाटन समारोह हुँदैछ। 

उद्घाटन समारोहका बेला आज हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्रााफिक मात्रै ३५० बढी परिचालन गरिएको जानकारी दिनुभयो । नियमित ड्युटीमा रहने प्रहरी यथावत रहनेछन्।

उनले उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुटको डाइभर्सन हुने पनि जानकारी गराउनुभयो । यसपालि नेपाली कांग्रेसले महाधिवेशनमा प्रतिनिधि र स्वतःस्फूर्त आउने व्यक्तिहरु मात्रै उपस्थित हुने जनाइसकेको छ । यद्यपि थोरै मानिसको भीड हुनेबित्तिकै उपत्यकाको सवारी आवागमनमा चाप पर्ने हुँदा सोहीअनुसारको व्यवस्थापन गरिएको छ।

कार्यक्रमस्थलमा सवारी जाम नहोस् भनेर प्रहरीले पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ ।  त्यस कार्यका लागि १८ ट्राफिक प्रहरी खटाइएको छ । टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा भने त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ । त्यस कार्यका लागि २४ ट्राफिक प्रहरी खटाइएको छ।

महाशाखाका अनुसार झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ । अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा राखिने छन् । महाधिवेशन प्रतिनिधिका सवारी साधन खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्वभाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्र तोकिएको छ। 

यसरी सवारी रुट र त्यस क्षेत्र तथा आसपासका लागि महाशाखाले एक प्रहरी उपरीक्षक, दुई प्रहरी नायब उपरीक्षक, तीन प्रहरी निरीक्षक, २५ जुनियर प्रहरी अधिकृत, ६५ प्रहरी हवल्दार र जवानसहित ९५ ट्राफिक प्रहरी खटाएको छ । अन्य सम्भावित क्षेत्र र आवश्यकता हेरी ट्राफिक परिचालन गरिने छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ। 

प्रकाशित मिति: १०:१६ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्