सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका सबैको रिपोर्ट नेगेटिभ
बैतडी, मंसिर २३ : सुदूरपश्चिम प्रदेशमा आज थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन...बैतडी, मंसिर २३ : सुदूरपश्चिम प्रदेशमा आज थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ७१६ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आरटी पीसीआरमार्फत दुई र एन्टिजेन विधिमार्फत छ जनामा सङ्क्रमण पुष्टि भएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा एक÷एक जनामा पुष्टि भएको हो। यस्तै एन्टिजेन विधिमार्फत कञ्चनपुर र बझाङका तीन/तीन जनामा सङ्क्रमण देखिएको हो।
गएको २४ घण्टामा प्रदेशभर तीन जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि बुधबार यस प्रदेशमा छ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१० को ज्यान गइसकेको छ।
भारतसँग सीमा जोडिएका नाकामा एन्टिजेन परीक्षण कार्य जारी रहेको छ। गड्डाचौकी,गौरीफन्टा, झुलाघाट, पुलघाट र जोलजीवी नाकामा गएको २४ घण्टामा ६२८ जनाको एन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ।