पुस ४ गतेदेखि विद्यालयमै बालबालिकालाई कोरोनाविरुद्धको खोप
काठमाडौं, मंसिर २३ : सरकारले पुस ४ गतेदेखि बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा...
काठमाडौं, मंसिर २३ : सरकारले पुस ४ गतेदेखि बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।
पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै पहिलो चरणको खोप दिइने स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ । त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्ला बाहेक सबैमा 'मोर्डना' खोप दिइने विभागले जनाएको छ । यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरामा फाइजर खोप दिईएको थियो ।
यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ । विभागका अनुसार बिहीबारसम्म नेपालमा लक्षित जनसंख्याको ५४.४ प्रतिशतले एक मात्राको कोभिडविरुद्धको खोप लगाइसकेका छन् भने ४५.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।











