मीन विश्वकर्माद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आज (बिहीबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले दलितका तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
पदाधिकारी नहुँदा आफ्ना मुद्दाहरु स्थापित गर्न गाह्रो हुने उल्लेख गर्दै यसपटक आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको उनले बताए।
नेता विश्वकर्माले समग्र देशको हितका लागि नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई जिताउनु अहिलेको आवश्यकता भएको तर्क गरे। नेपालको आर्थिक–सामाजिक रुपान्तरणका नायक देउवा भएको उल्लेख गरे।
देउवा पराजित भए मुलुकको राजनीतिक नेतृत्व पनि बदल्नुपर्ने अवस्था आउने र त्यस्तो परिस्थितिमा मुलुक अस्थिरतातिर जाने दाबी उनले गरे। ‘सरकार बदलिए निर्र्वाचा अनिश्चित हुन्छ। निर्वाचन अनिश्चित भए व्यवस्था नै अनिश्चित हुन्छ,’ उनले भने।
दलितको ८ प्रतिशत सहभागिता हुनुपर्नेमा कांग्रेसमा जम्मा ५ प्रतिशत मात्र भएको उल्लेख गर्दै आफू सहमहामन्त्रीमा निर्वाचित भए ८ प्रतिशत सहभागिता पुर्याउन जोड दिने प्रतिबद्धता उनले व्यक्त गरे।
नेता विश्वकर्माले कांग्रेस समावेशी पार्टी भएको पनि उल्लेख गरे। उनले सबै समूहलाई सशक्त ढंगले अगाडि बढाउने कांग्रेसले दलित राष्ट्रिय आयोगको गठन गरेको पनि उल्लेख गरे।
संविधानले प्रदान गरेको दलित, महिला आदिवासी–जनजाति, मधेसी, थारु, मुस्लिम, खस, आर्य, अपांगता, अल्पसंख्यक वा पिछडिएको वर्ग र क्षेत्रको हकअधिकार यथाशीघ्र कार्यान्वयनमा आवश्यक पहल नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ।
सदियौंदेखि जातीय, क्षेत्रीय तथा लैगिंक विभेदबाट पिल्सिएका जनसमुदाय समानताको मुद्दा समुदायको मुद्दामात्र नभएर सिंगो कांग्रेस पार्टीको राष्ट्रिय मुद्दा हुनुपर्ने भन्ने अडान उनले राखेका छन्।
‘१४औं महाधिवेशनबाट पार्टीलाई सबै पहिचानका नेपालीको एक मात्र साझा पार्टी नेपाली कांग्रेस भन्ने जन–जनको मनमनमा स्थापित गराउनुपर्दछ। यसका लागि प्रारम्भिक सदस्यतादेखि तहसम्म सबै पहिचानको प्रतिनिधित्व र नेतृत्व हुनु आवश्यक छ,’ उनले भने।











