प्रतिस्पर्धामा हुने जितहारलाई सहज रुपमा स्वीकार गर्न सभापति देउवाको आह्वान
काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा हुने निर्वाचनको परिणामलाई स्वभाविक रुपमा लिन नेता कार्यकर्ताहरुलाई अनुरोध गरेका छन्। विहीबार पार्टीका सहमहामन्त्री प्रकाशशरण...
काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा हुने निर्वाचनको परिणामलाई स्वभाविक रुपमा लिन नेता कार्यकर्ताहरुलाई अनुरोध गरेका छन्।
विहीबार पार्टीका सहमहामन्त्री प्रकाशशरण महतद्वारा लिखित पुस्तकको विमोचन गर्दै सभापति देउवाले प्रजातान्त्रिक प्रकृयाबाट आउने परिणामलाई सहर्ष स्वीकार गर्न आग्रह गरेका हुन्। उनले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरे।
‘ हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस्,’ देउवाले भने।
सभापति देउवाले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने पनि बताएका छन्। उनले सहमति नभए प्रजतान्त्रिक प्रक्रियाबाट पार्टीको नेतृत्व पदाधिकारी चयन हुने बताए
१४औं महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले भने, ‘यसलाई सफल पारेर फर्किएर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् ।’।











