दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतको आदेश
काठमाडौं, मंसिर २३ : भारतको कलकत्ता उच्च अदालतले विनाकसुर ४० वर्ष जेलमा थुनिएका दुर्गाप्रसाद तिम्सिनालाई पाँच लाख भारु क्षतिपूर्ति दिन आदेश गरेको छ। उच्च अदालत...
काठमाडौं, मंसिर २३ : विनाकसुर ४० वर्ष भारतीय जेलमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतले आदेश गरेको छ। मंगलबार कलकत्ता उच्च अदालतले दुर्गाप्रसादलाई ५ लाख भारु (करिब ८ लाख नेपाली रुपैयाँ) दिन आदेश गरेको हो।
उच्च अदालत कलकत्ताका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयृुक्त इजलासले दुर्गाप्रसादको खातामा तत्काल ५ लाख भारु जम्मा गर्न पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो।
इलाम मंगलबारेका दुर्गाप्रसाद युवती हत्या आरोपमा पक्राउ परेका थिए। १९ वर्षको छँदा तोरी बेच्न घरबाट हिँडेका दुर्गाप्रसाद तोरी बेचेर थप काम खोज्दै दार्जिलिङ्ग पुगेका थिए । उनी त्यहीँ पक्राउ परेका थिए।
पक्राउ परेको ४० वर्षपछि आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए।
दुर्गाप्रसादले क्षतिपूर्तिवापत पाउने रकम अबको ६ साताभित्र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमार्फत दुर्गाप्रसादको बैँक खातामा पठाइने छ। दुर्गाप्रसादको बैंक खाता नभए उनका नजिकको नातेदारको खातामा रकम पठाइने बताइएको छ।











