Kathmandu Press

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

कञ्चनपुर, मंसिर २३ : सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन गरी बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा उजुरी सङ्कलनसँगै पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन...
सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

कञ्चनपुर, मंसिर २३ : सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन गरी बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा उजुरी सङ्कलनसँगै पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन थालिएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले स्थानीय तहमै पुगेर पीडित परिवार तथा घटनाका बारेमा जानकार व्यक्तिका तर्फबाट उजुरी सङ्कलन गर्ने र पीडितको यकिन गरी परिचयपत्र उपलब्ध गराउने कार्य अगाडि बढाएको हो। अहिलेसम्म कञ्चनपुरका ७८ व्यक्ति सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता परिएकाबारे आयोगमा उजुरी परेको छ।

आयोजका सदस्य सरिता थापाले हालसम्म पुर्नवास, बेलौरी, लालझाडी, कृष्णपुर र शुक्लाफाँटामा गरी बेपत्ता पारिएका परिवारका ३३ व्यक्तिका आफन्तलाई परिचयपत्र दिइएको बताइन्। पुस मसान्तसम्म उजुरी सङ्कलन गर्ने र पीडित परिवारका सदस्यलाई परिचयपत्र वितरण गरिने उनले जानकारी दिइन्।

बलपूर्वक बेपत्ता पारिएका यहाँका नौवटै स्थानीय तहका ७८ व्यक्तिका आश्रित सबैलाई परिचयपत्र उपलब्ध गराउने लक्ष्य लिइएको आयोगले जनाएको छ।

आयोगको छानबिनबाट कुनै व्यक्ति परिवार पीडित हो भन्ने यकिन भएमा त्यस्तो पीडित व्यक्ति वा त्यसका परिवारलाई परिचयपत्र उपलब्ध गराउने व्यवस्था रहेको छ। स्थानीय तहले तयार गरेको सर्जमिन मुचुल्का, तत्कालीन शान्ति मन्त्रालयको रेकर्ड र अन्य आवश्यक प्रमाण जाँचबुझ गरी बेपत्ता पारिएका व्यक्तिका आश्रितलाई परिचयपत्र उपलब्ध गराइँदै आएको उनले बताइन्।

परिचयपत्र दिइएपछि राज्यबाट उपलब्ध हुने सेवा सुविधामा पीडित परिवारको पहुँच पुग्ने जनाइएको छ। परिचयपत्र वितरणको कार्यसँगै छानबिनको कार्यका लागि सातवटै प्रदेशलाई चार भागमा विभाजित गरी आयोगले देशभरि टोली खटाएको छ।

बेपत्ता पारिएका व्यक्तिको छिटोरुपमा अवस्था पहिचान गर्न, पीडित परिवारलाई छिटोछरितो रुपमा राज्यबाट पाउने सेवा सुविधा उपलब्ध गराउन र न्यायमा छिटो पहुँच पुर्‍याउन आयोगले टोली परिचालन गरेको बताइएको छ। (रासस)

प्रकाशित मिति: ०८:१० बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्