दुई कर्मचारीविरुद्ध यौन दुर्व्यवहारको उजुरी
नेपालगञ्ज, मंसिर २३ : बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ।कैलालीको टीकापुर...
नेपालगञ्ज, मंसिर २३ : बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ।
कैलालीको टीकापुर वनभोजमा गएका वेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुर्व्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाएकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले मणिराम र प्रदीपमाथि यौन दुर्व्यवहारको उजुरी परेको बताए।
यौन दुर्व्यवहारको आरोप लागेका कर्मचारीमध्ये मणिरामलाई बाँकेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ। अर्का कर्मचारी प्रदीप जिल्ला बाहिर रहेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कुरा अनुसन्धानबाट थाहा हुने र सोहीबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। प्रमुख प्रशासकीय अधिकृत मणिराम र लेखा अधिकृत प्रदीपले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको दाबी गरेका छन्। (रासस)











