एमाले केन्द्रीय कमिटीका लागि १५ कार्यसूची
काठमाडाैं, मंसिर २२ : नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीमा मनोनयनलगायत...
काठमाडाैं, मंसिर २२ : नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीमा मनोनयनलगायत १५ वटा कार्यसूची तय गरिएको छ। एकै बैठकमा यति धेरै कार्यसूचीसहित एमालेले महाधिवेशनपछि सङ्गठनात्मक क्षेत्रमा सक्रियता देखाउँदैछ।
सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, केन्द्रीय सल्लाहकार परिषद् गठन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश कमिटीको अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, नेताको कार्यविभाजन र वरियताक्रम निर्धारण, जनसङ्गठनको सुदृढीकरण अभियानलाई कार्यसूचीमा राखिएको जानकारी दिए।
सो पार्टीको दशौँ महाधिवेशनले निर्वाचित गरेको ३०१ सदस्यीय कमिटीमा १० प्रतिशतसम्म मनोनयन हुने व्यवस्था छ। यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा एमालेको महाधिवेशन भएको थियो। महाधिवेशनको समापन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले आगामी तीन महिनासम्म पार्टी प्रवेश कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने घोषणा गरेका थिए।











