मान्ममा कालिज फार्म सञ्चालन
मान्मा, मंसिर २२ : नरहरिनाथ गाउँपालिकामा पहिलो पटक कालिज फार्म सञ्चालनमा आएको छ। नरहरिनाथ गाउँपालिका–३ माडेगाउँका युवाले आफ्नै व्यक्तिगत लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका हुन। दैनिकजसो युवा विदेशिनेक्रम बढे पनि नरहरिनाथ गाउँपालिकाका युवाले सामूहिकरूपमा कालिज फार्म सञ्चालन गरेका छन्। युवाको व्यक्तिगत सात लाखको लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका हुन्।
सात जना युवाको सामूहिक लगानीमा कालिज फार्म सञ्चालन गरेका हुन्। रोजगारीका लागि देश भारत र अन्य खाडी मुलुकमा जाने भएकाले उनीहरुलाई रोक्न र आफ्नै भूमिमा केही गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि कालिज फार्म सञ्चालनमा ल्याएको मालिका वाइल्ड लाइफ एग्रो फार्मका सञ्चालक धर्मप्रसाद उपाध्यायले बताए। उनले भने,'हामीले थोरै लगानीबाट सुरु गरेका हौँ तर उत्पादनअनुसारको बजार नहुँदा समस्या भएको छ।'
नरहरिनाथ गाउँपालिकामा फार्म भए पनि उत्पादन गरेअनुसारका कालिज बिक्रीका लागि बजारको समस्या भएको सञ्चालक उपाध्यायले बताए। 'कालिजको मूल्य बढी छ, किनेर खानसक्ने आयस्रोत ग्रामीण भेगका नागरिकको छैन,' उनले भने, 'त्यसैले उत्पादन गरेअनुसारको बजार नभएर खर्च बढेको छ।'
अहिले मालिका वाइल्ड लाइफ एग्रो फार्ममा १२० भन्दाबढी कालिज फार्ममा रहेका छन्। फार्ममा रहेका कालिजको प्रजनन समय सुरु भएकाले व्यवस्थापनका लागि समस्या भएको उपाध्यायको भनाइ छ। 'अरु कुखुराले जस्तै चारो खाने र त्यसमा साना घाँस पनि खाने भएकाले कालिज पाल्न गाह्रो छैन,' उनले भने, 'उडेर भाग्ने सम्भावनाका कारण वरिपरि घेरबार मात्र नभएर निश्चित उचाइमा आकाश ढाक्नेगरी जाली पनि लगाइएको छ।' सुर्खेतबाट पहिलो पटक प्रतिगोटा एक हजार मूल्यमा कालिजको चल्ला किनेको उपाध्यायले सुनाए। अहिले स्थानीय बजारमा एउटा कालिजको तीन हजार रुपैयाँ मूल्य पर्ने उपाध्यायले बताए।