‘सिरियल किलर’ गुल्जार मियाँ नौ वर्षपछि पक्राउ

सप्तरी, मंसिर २२ : हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन्।
सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक टिकुलिया गाविस–६ घर भई कुशहा– ६ बस्ने सकिल हुसेन मियाँ र उनका साथी गुल्जार मियाँ तथा मस्तकिम मियाँ लामो समय नेपाल बाहिर रहँदै आएका थिए।
उनीहरुमाथि शङ्खलाबद्ध बलात्कार र हत्याको आरोप छ। सिरियल किलर सकिललाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ९इन्टरपोल० को कतार शाखाले कतारमा पक्राउ गरी २०७४ फागुन २० गते नेपालको जिम्मा लगाएको थियो। सकिका नाममा २०७२ असार ४ गते इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको थियो । पक्राउ परेका गुल्जार उनै सकिलका मुख्य सहयोगी हुन्।
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सकिल र गुल्जारलगायतले साविक टिकुलिया गाविस–९ घर भई पटेर्वा गाविस–१ बस्ने सबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेर आफ्नै कुखुरा फारम नजिकै गाडेका थिए। साविक जण्डौल गाविस–८ की गोरहनिया भनिने दुलारीदेवी मुखिया साह र त्रिकौल गाविसको निर्मलादेवी साहको हत्यामा पनि उनी संलग्न रहेको प्रहरीको भनाइ छ। सकिलमाथि आफ्नै ससुरा र बुहारीको समेत हत्या गरेको आरोप छ।
सकिलमाथि सप्तरीको मल्हनियाँका आरुल मियाँ र पाण्डव पासवनको हत्या गरेको आरोप लागेको थियो। २०६८ सालमा सकिल पक्राउ पनि परे। यद्यपि आरोप पुष्टि हुन सकेन। आरुलका दाइ कलामुद्दिनको जाहेरीअनुसार प्रहरीले २०६८ मङ्सिर ४ गते सकिललाई पक्राउ गरिएको थियो।
जिल्ला अदालतको २०६९ चैतको आदेशअनुसार प्रहरी अनुसन्धान मिसिलमा जुटाइएका कागजातको आसय बाँझिएको फाइदा सकिललाई पुग्यो। उनले सफाइ पाए। प्रहरीले बरामद गरेको कङ्काल आरुल मियाँको हो भन्ने प्रमाणित नभएकाले उनको मृत्यु पुष्टि नभएको अदालतको आदेशपत्रमा उल्लेख छ।
सप्तरीदेखि सुनसरीसम्मका नौ जनाको शृङ्खलाबद्ध हत्या अनुसन्धान क्रममा प्रहरीले मुख्य योजनाकारका रुपमा सकिललाई पायो। आरुल मियाँ र पाण्डव पासवानको हत्या आरोपमा पक्राउ परे पनि उम्केका सकिलले एकपछि अर्को गरी नौ जनाको हत्या गरेको बताइएको छ।
शङ्खलाबद्ध हत्या अनुसन्धान क्रममा आठ वर्षअघिको आरुल हत्याकाण्डका मुख्य अभियुक्त सकिलले तत्कालीन प्रहरीको फितलो अनुसन्धान र कमजोर मिसिलका कारण उन्मुक्ति पाएको प्रहरीले ठहर गरेको छ।
एक हत्या अनुसन्धानमा प्रहरीले तीन महिला र तीन पुरुषलाई नियन्त्रणमा लिएको थियो। सोही बेला पक्राउ परेकामध्ये सप्तरीको साविक सारश्वर गाविस–४ का अल्लाउद्दिन मियाँको बयानबाट प्रहरीले नौ जनाको हत्या शृङ्खला फेला पारेको हो।
सबै हत्याको मास्टर माइन्ड सकिल हुसैन भएको प्रहरीको भनाइ छ। जसमा गुल्जार अल्लाउद्धिनसहितका व्यक्ति बराबर संलग्न रहेका बताइएको छ।











-1788524800.jpg)