कांग्रेसमा यसरी बन्छ १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय कार्यसमिति
महाधिवेशनबाट भने कोषाध्यक्षबाहेक १३ पदाधिकारी र सभापितकाे सिफारिसमा केन्द्रीय समितिले मनाेनीत गर्नेबाहेकका केन्द्रीय सदस्य चुनिनेछन्।काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ।
शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न गर्ने र त्यहाँकै हलमा बन्द सत्र गर्ने तयारी कांग्रेसले गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार २५ गते उम्मेदवारी दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका रहेको छ।
मतदान भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा हुने जनाइएको छ। केन्द्रीय महाधिवेशनका लागि देशभरिबाट ४ हजार ७ सय प्रतिनिधि चुनिएका छन्।
उनीहरूले २९ वटा मतपत्र प्रयोग गरी आगामी पाँच वर्ष कांग्रेसलाई हाँक्ने नयाँ नेतृत्व चयन गर्नेछन्। कांग्रेसमा १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। महाधिवेशनबाट भने कोषाध्यक्षबाहेक १३ पदाधिकारी र सभापितकाे सिफारिसमा केन्द्रीय समितिले मनाेनीत गर्नेबाहेकका केन्द्रीय सदस्य चुनिनेछन्।
पदाधिकारीमा एकजना सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री, आठजना सहमहामन्त्री र एकजना कोषाध्यक्ष हुनेछन्। कोषाध्यक्षबाहेक सबै पदका लागि प्रत्यक्ष निर्वाचन हुनेछ। कोषाध्यक्ष भने पछि मनोनीत गर्ने व्यवस्था छ।
महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यमध्ये सभापतिद्वारा सिफारिस एकजनालाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था कांग्रेस विधानमा व्यवस्था गरिएको छ।
कांग्रेसको संशोधित विधानअनुसार सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्नेछन्। जसमा महिला, मधेसी, आदिवासी जनजाति, दलित, खस-आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र पर्दछन्। जुनसुकै क्लस्टरबाट उठे पनि सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूबाट उनीहरूले निर्वाचित हुनुपर्नेछ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) बाट ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जनाको दरले २१ जना महाधिवेशनमा निर्वाचित हुनेछन्।
केन्द्रीय समितिमा विभिन्न क्लस्टरअनुसार महिलाबाट ९, दलितबाट ४ महिलासहित ९, आदिवासी जनजातिबाट ७ महिलासहित १५, खसआर्यबाट ६ महिलासहित १३, मधेसीबाट ४ महिलासहित ९, थारुबाट २ महिलासहित ४, मुस्लिमबाट एक महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरी ५४ जना सदस्य चयन गरिनेछ। अपांगता भएका वा अल्पसंख्यक समूहबाट पनि दुईजनालाई केन्द्रीय सदस्यमा निर्वाचित गरिनेछ।
सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट थप ३३ जना मनोनीत गर्ने व्यवस्था विधानले गरेको छ। निर्वाचित भएर आउन नसकेका विभिन्न क्लस्टरका महिला, समावेशी सिद्धान्त र अपांगता वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी सभापतिले मनोनयन गर्नुपर्ने विधानमा उल्लेख छ।











-1788524800.jpg)