चाँडो सम्मेलन गरी सार्कलाई नवजीवन दिनुपर्छ: प्रधानमन्त्री
काठमाडौं, मंसिर २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।सार्क स्थापनाको...
काठमाडौं, मंसिर २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
सार्क स्थापनाको ३७औँ वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका नागरिक र सरकारलाई आज बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्रीले १९औँ शिखर सम्मेलन चाँडो आह्वान गरेर सङ्गठनलाई नवजीवन दिनुपर्ने बताए।
सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको प्रमुख खाका भएको र त्यसबाट दक्षिण एशियाका जनताको हितमा केही उल्लेखनीय प्रगति भएको बताउँदै प्रधानमन्त्री देउवाले क्षेत्रीय सद्भाव प्रवर्द्धन, गरिबी र असमानताको अन्त्य, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्ने साझा प्रयासहरूले आवश्यक सामर्थ्य हासिल गर्न बाँकी रहेको जनाएका छन्।
उनले कोभिड–१९ महामारीबाट उत्पन्न चुनौती र जोखिमलाई उल्लेख गर्दै उत्थानशील पुनरुत्थान एवं सुदृढ पुनःनिर्माणमा केन्द्रित हुँदै क्षेत्रीय समझदारी र ऐक्यबद्धतालाई पुनः आत्मसात गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
साथै प्रधानमन्त्रीले दक्षिण एशियाका जनताको बृहत्तर हितका खातिर सार्कलाई सक्षम बनाउन नेपालले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। सहयोग, विश्वास र समझदारीमा आधारित सार्कलाई अझ प्रभावकारी र परिणाममुखी तुल्याउन उनले सदस्य राष्ट्रहरूसँग आग्रह पनि गरेका छन्।











-1788524800.jpg)