प्रधानन्यायाधीशले राजीनामा दिँदैमा र महाअभियोग लगाउँदैमा न्यायालय सच्चिन्न : ओली

काठमाडौं, मंसिर २१ : एमाले अध्यक्ष केपी ओलीले न्यायालयलाई तत्काल सच्याएर लैजान सक्ने स्थिति नरहेको बताएका छन्।
आफूलाई बालकोटस्थित निवासमै भेट्न आएका नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारीसँगको छलफलमा उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिँदैमा वा उनीविरुद्ध महाअभियोग लगाउँदैमा न्यायालय सच्चिने अवस्था नरहेको स्पष्ट पारे।
उनले न्यायालय, राजनीतिक दल, न्यायाधीश, वकिल सबै सच्चिनुपर्ने आवश्यकता पनि औंल्याए।
‘न्यायालय तत्काल सच्याएर लैजाने अवस्था मैले देखेको छैन। न्यायालय सच्याएर लैजान हामी नै कति तयार छौं त? राजनीतिक दल पनि सच्चिनुपर्छ। न्यायाधीश पनि सच्चिन आवश्यक छ। वकिल पनि सच्चिनुपर्ने आवश्यकता देख्छु,’ उनले भने, ‘चोलेन्द्र शमशेरले राजीनामा गर्दैमा र महाअभियोग लगाउँदैमा अहिलेको न्यायालय सच्चिने भए त ठिकै हो। तर, त्यो नै होला जस्तो त म देख्दिनँ। म जटिल देख्छु। चोलेन्द्रजी भनिरहनुभएको छ म संवैधानिक बाटोबाट आएकाले बाहिरिन्न।’
उनले प्रधानन्यायाधीश हटाउन एमाले निर्णायक र बाधक दुवै नभएको पनि उनले बताए। उनले संसद विघटनको मुद्दा फैसला गर्दा लेनदेन गरेर गुन लगाइएको भन्दै अहिले नेताहरुले नै सार्वजनिक रूपमा भनेको पनि बताए।











-1788524800.jpg)