रित्तो थाल बोकेर अस्थायी विस्थापित शिक्षकहरु धर्नामा
रुपन्देही, भदौ ९ : अस्थायी विस्थापित शिक्षकहरु रितो थाल हातमा लिएर प्रदेश ५ को प्रदेशसभा भवन अगाडि धर्ना दिएका छन्।
सोमबार दिउँसोको एक....
रुपन्देही, भदौ ९ : अस्थायी विस्थापित शिक्षकहरु रितो थाल हातमा लिएर प्रदेश ५ को प्रदेशसभा भवन अगाडि धर्ना दिएका छन्।
सोमबार दिउँसोको एक बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो। प्रदेश मन्त्री र सांसदहरु संसद भवन छिर्न लागिरहेका समयमा अस्थायी विस्थापित शिक्षकहरु रितो थाल लिएर बसेका थिए। एउटा कालो ब्यानरमा अस्थायी विस्थापित शिक्षक संघर्ष समिति प्रदेश नम्बर ५ भनेर लेखिएको थियो।
संसद भवनको गेटमा बसेर दुई विस्थापित शिक्षकले ‘माननीय सांसद विस्थापित शिक्षकहरुलाई स्थापित गर्ने सम्बन्धमा’ लेखिएको पत्र सांसदहरुलाई दिएका थिए।
संसद बैठकमा भने कुनै पनि सांसदहरुले उनीहरुको आन्दोलनबारे कुरा उठाएनन्। लामो समयदेखि अस्थायी शिक्षकको रुपमा सेवा गर्दै आएका शिक्षकलाई सरकारले २०७५ फागुनदेखि विस्थापित गरी बेरोजगार बनाएपछि चरणबद्ध रुपमा आन्दोलन गरेको विस्थापित शिक्षकहरुले बताएका छन्। उनीहरुले यसअघि सामाजिक विकास मन्त्रालय अगाडि धर्ना दिँदै आएका थिए।
विस्थापित शिक्षकहरुलाई सेवामा उमेर हदसम्म स्थापित गर्नु पर्ने एक सुत्रीय माग राखेर सामाजिक विकास मन्त्रालयको अगाडि अनिश्चितकालीन धर्ना दिँदै आएको अस्थायी विस्थापित शिक्षक संघर्ष समितिका सचिव छविलाल न्यौपानेले बताए।
२० वर्षदेखि अस्थायी रुपमा शिक्षक पेशा गर्दै आएर अहिले सरकारले बेरोजगार बनाएको उनको आरोप छ। सरकारले रोजागरीमा रहेका अस्थायी शिक्षकहरुलाई विस्थापित गरेकाले घोर अन्यायमा परेको संघर्ष समितिका अध्यक्ष दयाशंकर गुप्ताले बताए।
प्रदेशसभाबाट विधेयक पारित गरी प्रदेश सरकारले विद्यालयमा स्थापित गरी तलव खुवाउने व्यवस्था गर्नुे उनीहरुको माग छ।