सभापतिको उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संस्थापनइतर पक्षको बैठक बस्दै
काठमाडौं, मंसिर २१ : नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार टुंगो लगाउन संस्थापन इतर पक्षको बैठक आज पनि बस्ने भएको छ। महाधिवेशन संघारमै...
काठमाडौं, मंसिर २१ : नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार टुंगो लगाउन संस्थापन इतर पक्षको बैठक आज पनि बस्ने भएको छ।
महाधिवेशन संघारमै आइपुग्दा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराराबीच पुनः छलफल हुन लागेको हो।
संस्थापन इतर पक्षका यी नेताहरुबीच सोमबार पनि छलफल भएको थियो । सोमबार बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि मंगलबार पुनः छलफलमा जुट्न लागेको हो।
इतर पक्षका चारै जना नेताहरु सभापतिका आकांक्षी हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक आफूलाई सघाउन आग्रह गर्दै छन् भने प्रकाशमान सिंह र शेखर कोइरालाले पनि आफ्नो दाबी छाडेका छैनन्। महामन्त्री डा. शशांक कोइराला भने मौन देखिएका छन्।
सोमबार भएको सहमति भएअनुसार मंगलबार दिउँसो एक बजे पुनः चार जना नेताहरु ठमेलको चाक्सीबारीस्थित सिंहको निवासमा छलफलमा बस्दैछन् ।
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौं हुने कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट हालका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिने बताइसकेका छन्।











-1788524800.jpg)