Kathmandu Press

साथीलाई बचाउन जाँदा मारिएका थिए भूपेन्द्र 

नवीन रावलको समूहमा रहेका आर्यन देवकोटा, चिरञ्जीवी शाही, रोशन शाही र रोहित आले समेतले भूपेन्द्रलाई नियन्त्रणमा लिई पेटमा खुकुरी प्रहार गरे । खुकुरी प्रहारबाट छटपटिएका भूपेन्द्रमाथि छातीमा थप दुई प्रहार गरियो । त्यसपछि पिठ्युँमा ३ र टाउकाको पछाडि भागमा थप खुकुरी प्रहार भएपछि भूपेन्द्र गम्भीर घाइते भए।
साथीलाई बचाउन जाँदा मारिएका थिए भूपेन्द्र 

काठमाडौं, मंसिर २० : गत कात्तिक २३ गते राती कैलाली लम्किचुहा नगरपालिका–३ का भूपेन्द्र बडुवालको फोनमा लगातार घन्टी बजिरहेको थियो। उनी आमासँगै बसेर खाना खाँदै थिए। साथमा थिए, दीपेश न्यौपाने। लगातार फोन बजेपछि आमालाई साथीकोमा नै सुत्छु भनेर भूपेन्द्र दीपेशलाई लिएर घरबाट निस्किए। विडम्बना, उनी कहिल्यै फर्किएनन्।
 
भूपेन्द्रको मोबाइलमा लगातार फोन गर्ने व्यक्ति थिए, कपिल श्रेष्ठ। उनी भूपेन्द्रका साथी थिए। कपिलले आफू खतरामा रहेको बताउँदै भूपेन्द्रलाई बोलाइरहेका थिए। कपिललाई लिन भूपेन्द्र र दीपेश मोटरसाइकल लिएर टीकापुरतर्फ हानिए। मोटरसाइकल दीपेशले चलाएका थिए। तर, कपिलले भनेको लोकेसन नभेटेपछि पुनः फोन गरे। कपिलले सिद्धार्थ होटल नजिक आउनु भनेपछि भूपेन्द्र त्यसतर्फ अगाडि बढे। 

कपिलले भनेको लोकेसनमा पुग्नुअगाडि नै दीपेश र भूपेन्द्र घेरिए। जमरा पुलनजिक तीन/चारवटा मोटरसाइकल र स्कुटरमा १०/१२ जनाको समूहले उनलाई मोटरसाइकल रोक्ने आदेश गरे।

मोटरसाइकलमा चिसापानीका नवीन रावलसहितका गुन्डाहरूलाई देखेपछि दीपेशले मोटरसाइकलको स्पिड बढाए। त्यो समूह पनि दीपेश र भूपेन्द्रको पछि लाग्यो। त्यहाँ आफ्नो मामाघर रहेको बताउँदै भूपेन्द्रले बीच बाटोमै दीपेशलाई बाइक रोक्न भने। रावलको समूह उनीहरूको पछिपछि आइरहेका थिए। बाइक रोकिएपछि भूपेन्द्रले नजिकैको घरभित्र जाने प्रयास गरे।

Hardik ivf

यता दीपेश मोटरसाइकलबाट उत्रिँदै थिए। रावलको समूहले उनको आँखामा टर्च बाल्दै ‘को हो?’ भनेर सोध्यो। दीपेशले मामाघरमा आएको बताएपछि नवीनको समूह भूपेन्द्रको पछि लाग्यो । घरभित्र जाँदै गरेका भूपेन्द्रलाई रावलका समूहले पछाडिबाट तान्यो र भुइँमा पछार्‍याे। 

भूपेन्द्रकाे हत्यामा प्रयाेग भएकाे हतियार।

नवीन रावलको समूहमा रहेका आर्यन देवकोटा, चिरञ्जीवी शाही, रोशन शाही र रोहित आलेसमेतले भूपेन्द्रलाई नियन्त्रणमा लिई पेटमा खुकुरी प्रहार गरे। खुकुरी प्रहारबाट छटपटिएका भूपेन्द्रमाथि छातीमा थप दुई प्रहार गरियो। त्यसपछि पिठ्यूँमा तीन र टाउकाको पछाडि भागमा थप खुकुरी प्रहार भएपछि भूपेन्द्र गम्भीर घाइते भए। 

भूपेन्द्रमाथि लगातारको प्रहारपछि नवीन रावलसहितको टोली फरार भयो। त्यसको ५/७ मिनेटपछि प्रहरी घटनास्थलमा पुग्यो। गम्भीर घाइते भएका भूपेन्द्रलाई प्रहरीले तत्काल टीकापुर अस्पताल पुर्‍यायो। राति साढे ९ बजे उनको मृत्यु भयो। 

दुई समूहको दुस्मनीका कारण मारिए भूपेन्द्र

स्थानीय स्तरमा हुने ठेक्कापट्टामा वर्चस्व कायम गर्न लोकजंग शाहीसमेतले युवाहरुको समूह बनाउने र सो समूहलाई विभिन्न किसिमका आपराधिक लाभका लागि परिचालन गर्दै आएका थिए। सोही समूहमा थिए जयन्द्र शाह र नवीन रावल। विभिन्न विषयमा मनमुटाव भएपछि जयन्द्र र नवीन रावलबीच झगडा हुन थाल्यो। पछि ती समूह एकअर्काको ज्यानको प्यासी नै भए। 

जयन्द्र र रावलबीचको दुस्मनी स्थानीय स्तरमा मात्रै सीमित रहेन। गत भदौमा नवीन रावल समूहको एक सदस्यमाथि काठमाडौंमै आक्रमण भयो। प्रहरीका अनुसार काठमाडौंको कालीमाटी क्षेत्रमा नवीन रावल समूहमा रहेका हिमाल शाहीमाथि जयन्द्र शाहको समूहले खुकुरी प्रहार गरी हत्याको प्रयास गरेको थियो। 

जयन्द्रको समूहमै थिए कपिल श्रेष्ठ। नवीन रावल समूहमाथि आक्रमण गर्ने योजना बनाउन कपिल गत कात्तिक १७ गते काठमाडौंबाट कैलाली गएका थिए। २० गते लम्की पुगेका कपिल एक रात मुनमुन होटलमा बसे। २१ र २२ गते बौनियाँस्थित अनुकूल होटलमा बसेर कपिलले नवीन रावलको समूहमाथि आक्रमणको योजना बनाए। 

घटनापछि प्रहरीले बरामद गरेकाे माेटरसाइकल।

त्यसबेला लम्कीमा फुटबल चलिरहेको थियो। कात्तिक २३ गते नवीन रावलको समूह पनि फुटबल हेर्न आउने सूचना कपिलले पाए। उनले त्यसबारे समूहका अन्य सदस्यहरुलाई जानकारी गराए। लम्की खेल मैदानमै नवीनको समूहमाथि आक्रमण गर्ने योजनामा थिए जयन्द्र र उनको समूह। तर, सो समूह खेल मैदानमा आउनुअघि नै नवीन रावलको समूह त्यहाँबाट हिँडिसकेको थियो। 

जयन्द्रको समूह हतियारसहित आक्रमणको योजनामा रहेको नवीन रावलले सुराक पाए। त्यसपछि उनी पनि प्रतिकारको तयारीमा लागे। ‘जयन्द्रको समूहलाई जहाँ भेटिन्छ त्यहीँ हान्नू’ भनेर केटाहरुलाई परिचालन गरे । यता नवीन रावलहरू नभेटिएपछि जयन्द्र समूह पनि बाटो लागिसकेको थियो। त्यसपछि नै एक्लिएका थिए कपिल श्रेष्ठ। समूहबाट छुटेका कपिलले आफूलाई लिन भूपेन्द्रलाई बोलाए र बीच बाटोमै भूपेन्द्रको हत्या भयो।

एक महिनामा १२ जना पक्राउ, मुख्य अभियुक्त अझै फरार 

घटना भएको एक महिना पुग्नै लाग्दा प्रहरीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। तीमध्ये ८ जना कात्तिक २४ गते नै पक्राउ परेका थिए। सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश महेश रावल, २० वर्षीय धीरज भनिने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा १ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल छन्। यस्तै लम्कीचुहा नगरपालिका ५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका १ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका १ बस्ने २१ वर्षीय रोहित आले, टीकपुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका २ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोश भन्ने सविनजँग शाही रहेका छन्। 

दुवै समूहका नाइकेहरू भने अझै फरार छन्। डिएसपी जोशीका अनुसार लम्कीचुहा–३ चिसापानीका २७ वर्षीय नवीन रावल, सोही ठाउँका २६ वर्षीय अनुज भनिने चिरञ्जीवी जंग शाही, २६ वर्षीय हिमाल शाही, जानकी गाउँपालिका–६ जगतपुर बस्ने अञ्दाजी २८ वर्षका जयन्द्र शाह, टीकापुर नगरपालिका–१ बस्ने २७ वर्षीय बिकास शेरचन, लम्कीचुहा नगरपालिका–४ का २४ वर्षीय रोशन बहादुर शाही, टीकापुर–६ बस्ने ३५ वर्षीय अशोक रावल, लम्की चुहा–३ बस्ने ३२ वर्षीय लोकजंग शाही र बर्दिया गरुवा गाउँपालिका ५ बस्ने २२ वर्षीय हेमन्त शाही फरारको सूचीमा छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:०७ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्