Kathmandu Press

ओमिक्रोन फैलन नदिने प्रयास भइरहेका छन्, तत्काल लकडाउनको सम्भावना छैन : स्वास्थ्य मन्त्रालय 

चिकित्सकहरूले त्रसित हुनुभन्दा सबैले आवश्यक सतर्कतास्वरूप जनस्वास्थ्यका मापदण्ड अपनाउन जरुरी रहेको बताउँदै आएका छन्।
ओमिक्रोन फैलन नदिने प्रयास भइरहेका छन्, तत्काल लकडाउनको सम्भावना छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं, मंसिर २० : नेपालमा दुईजनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएसँगै सर्वसाधारण त्रसित बनेका छन्। फेरि लकडाउन हुने अफवाह चारैतिर फैलिएको छ। 

दुईपटक चरणबद्ध रूपमा लकडाउन झेलेका सर्वसाधारण फेरि लकडाउन हुने हल्लाले त्रसित छन्। विगतमा लकडाउनका कारण भक्तपुरकी रमा बस्नेतले आफ्नो कपडाको व्यवसाय निकै समयसम्म बन्द गर्नुपरेको थियो। अहिले केही व्यापार हुन थालेपछि फेरि लकडाउन हुने हल्लाका कारण सामान पनि लिन नगएको उनी बताउँछिन्।

‘लकडाउनले एक वर्षसम्म भाडा मात्र तिरेर बसें। अब केही व्यापार होला भनेको फेरि बन्द हुने हल्ला छ,’ निराश हुँदै उनले भनिन्, ‘पसलका लागि सामान लिन जानुपर्ने थियो, बन्द भयो भने पैसा यहीँ होल्ड हुन्छ भनेर सामान पनि लिन गएकी छैन।’

यस्तै अर्का ट्याक्सी चालक प्रेम माकजु पनि लकडाउनका कारण धेरै समय घर बसेका थिए। अहिले केही हदसम्म ग्राहक बढे पनि फेरि लकडाउन हुने चिन्ताले उनलाई पिरोलेको छ।

‘अब फेरि लकडाउन भयो भने हामी मरे पनि भयो, खाईनखाई जम्मा गरेको पैसा पहिलो र दोस्रो लकडाउनमा सकिसक्यो। अहिले अलि ग्राहक बढ्न थालेका छन्। अलिकति भएको पैसाले बच्चा पढाउनु कि घर चलाउनु?’

चिकित्सकहरूले त्रसित हुनुभन्दा सबैले आवश्यक सतर्कतास्वरूप जनस्वास्थ्यका मापदण्ड अपनाउन जरुरी रहेको बताउँदै आएका छन्। संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यसभन्दा अघि पनि कोरोनाको विभिन्न भेरियन्ट देखिएका थिए। तर, यो उत्परिवर्तन (म्युटेड) भएको हुनाले विगतको तुलनामा केही खतरा बढेको छ।

‘दक्षिण अफ्रिका हुँदै अहिले नेपाल र भारतमा समेत यसको संक्रमण पुष्टि भइसकेको छ। धेरै उत्परिवर्तन हुँदा भेरियन्टले संक्रमण गराउने सक्ने क्षमता वा खोपको प्रभावकारितामा पनि प्रभाव पार्ने हुन्छ,’ उनले काठमाडौं प्रेससँग भने।

डा. पुनका अनुसार हामीसँग अहिले उपलब्ध भएका खोपहरू सामान्तयः स्पाइक प्रोटिनलाई टार्गेट गरेर बनेका छन्। अहिलेको धेरै नै संख्यामा म्युटेसन भएको नयाँ भेरियन्टले हामीले लगाएको खोपबाट बनेको एन्टिबडी पहिचान गर्न सकेन वा छल्यो भने समस्या आउन सक्छ। यसले हामीसँग भएको खोपको प्रभावकारिता घट्ने सम्भावना छ। यो भेरियन्ट कतिसम्म घातक हुने हो भन्ने अध्ययन भइरहेको छ। विस्तृत रुपमा यसले कस्तो अवस्था सिर्जना गर्ला भन्ने कुरा हेर्न बाँकी छ।

ओमिक्रोनले हाम्रो शरीरको जिनमा अतधिक परिवर्तन ल्याउने भएकै कारण सचेत हुनुपर्ने डा. पुनले जानकारी दिए। ‘ओमिक्रोनमा विगतको भेरियन्टको तुलनामा बढी स्पाइक प्रोटिन देखिएको छ। यो भनेको भाइरसको आकृतिमा अझ बढी काँडेदार देखिएको हो,’ उनले भने। 

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नेपालमा ओमिक्रोन संक्रमण फैलन नदिन प्रयासहरू भइरहे पनि तत्काल लकडाउनको सम्भावना नरहेको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, ‘ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न प्रयास जारी राखेको छ। तर, तत्काल लकडाउनको कुनै सम्भावना छैन। नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको पिसिआर रिपोर्ट नेगेटिभ हुनु अनिवार्य गरेको, खोपको विवरण लिने गरेको छ।’

यस्तै, लक्षणहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुको एन्टिजेन परीक्षण गर्ने गरिएको डा. अधिकारीले जानकारी दिए। साथै एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरूको नमुना संकलन गरी पिसिआर गर्ने र शंकास्पद नमुनाहरुको जिन सिक्वेन्सिङ गर्ने र विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमुनाहरूको थप परीक्षण गर्ने कार्य गरिरहेको मन्त्रालयले जनाएको छ। 

नेपालमा पुष्टि भएका ओमिक्रोनका दुई संक्रमितसँग सम्पर्कमा आएकाहरूको बृहत् रूपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको र सम्पर्कमा ल्याइएका ६६ जनाको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार नेपालमा ओमिक्रोन निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई थप प्रभावकारी बनाइएको छ। कोभिड–१९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्नेलगायतका जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना गर्नुपर्छ।

साथै खोपको प्रयोग महत्वपूर्ण हुने भएकाले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनसमेत मन्त्रालयले अनुरोध गरेको छ। नेपालमा ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आकलनअनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षिण एसियाका केही देशमा समेत यो भेरियन्ट पुष्टि भइसकेको छ। यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भइरहेको छ।
 

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्