नेपालमा पनि दुईजनामा देखियाे ‘ओमिक्रोन’ संक्रमण
पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको जानकारी दिए।
काठमाडौं, मंसिर २० : कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित नेपालमा पनि भेटिएको छ।
आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेर त्यसबारे जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको जानकारी दिए।
मन्त्रालयका अनुसार दुवै जना कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका व्यक्तिहरू हुन्।
मन्त्रालयले पत्रकार सम्मेलनमा जारी विज्ञिप्तमा भनिएकाे छ, ‘मंसिर ३ गते नयाँ भेरिएन्ट पुष्टि भएको देश हुँदै एक ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउँदा नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो।’
अगाडि भनिएकाे छ, ‘उहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैलाई मंसिर ७ गते कोभिड–१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिए पश्चात परिक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो। कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरुको एस–जिन परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीतिअनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस–जिन फेला परेको थिएन।’
एस–जिन फेला नपरेका उक्त दुवै नमुनाहको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा मंसिरर १९ गते राति कोभिड–१९ को नयाँ भेरिएन्टओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको मन्त्रालयको भनाइ छ।
हाल दुवैजना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहेको जनाइएको छ। हाल उनीहरुमा कुनै लक्षण नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयको भनाइ छ। ती दुईजनाको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर पिसिआर परीषण गर्दा रिपोर्ट नेगेटिभ आएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
‘उक्त दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरुको बृहत् रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ।












-1788524800.jpg)