समावेशिताकाे सवाल उठे पनि उजुरी आह्वान भइसकेकाले राजदूतकाे सुनुवाइ राेक्नुहुन्न : पुष्पा भुसाल
काठमाडाैं, मंसिर २० : नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले संसदीय सुनुवाइ समितिले राजदूतलगायत अन्य राजनीतिक नियुक्तिका लागि गरिने सिफारिसलाई गम्भीर रूपमा लिनुपर्ने बताएकी छन्।संघीय...
काठमाडाैं, मंसिर २० : नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले संसदीय सुनुवाइ समितिले राजदूतलगायत अन्य राजनीतिक नियुक्तिका लागि गरिने सिफारिसलाई गम्भीर रूपमा लिनुपर्ने बताएकी छन्।
संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको आज (सोमबार) बसेको बैठकमा उनले प्रस्तावित राजदूतका सन्दर्भमा उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल नगरेको तर अहिले प्रश्न उठाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
भरत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि आज समितिको बैठक बसेको हो। बैठकमा राजदुत नियक्तिमा समावेशितको ख्याल नगरिएको भन्ने प्रश्न उठेको थियो।
सोही सन्दर्भलाई स्पष्ट पार्दै उनले भनिन्, ‘उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो तर प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन। उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो।’ उनले आगामी दिनमा यस्तो विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्नेमा जोड दिइन्।
समावेशिताको प्रश्न महत्वपूर्ण भएपनि उजुरी आह्वान गरेर प्रक्रिया सुरु गरिसकेकाले प्रस्तावित राजदूतहरुको सुनुवाइ रोक्न नमिल्ने तर्क उनको थियो।
एमाले सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्त समावेशी हुनुपर्ने भन्दै प्रश्न उठाएका थिए। ‘राजदूत नियुक्ति समावेशी छैन। राजदूत नियुक्तिमा समावेशी बनाउनेतर्फ समितिको ध्यान जानुपर्छ। सरकारसँग जानकारी मागेर अर्को बैठकमा सुनुवाइ अगाडि बढाउनुपर्छ।’
सरकारले गत कात्तिक ११ गते भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्रीलाई सिफारिस गरेको थियो।
अनुमोदन गर्नेनगर्नेबारे सुनुवाइ समितिले ४५ दिनभित्र निर्णय गरिसक्नुपर्छ।











-1788524800.jpg)