Kathmandu Press

कांग्रेसको प्रदेश अधिवेशन र लोकसेवाको परीक्षाले पोखराकाे पर्यटनमा राहत

पोखरा, मंसिर २० : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशन र लोकसेवा आयोगका विभिन्न परीक्षाका कारण पछिल्लो हप्ता पोखराको पर्यटनमा राहत मिलेको...
कांग्रेसको प्रदेश अधिवेशन र लोकसेवाको परीक्षाले पोखराकाे पर्यटनमा राहत

पोखरा, मंसिर २० : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशन र लोकसेवा आयोगका विभिन्न परीक्षाका कारण पछिल्लो हप्ता पोखराको पर्यटनमा राहत मिलेको छ।

कोरोना कहरका कारण प्रभावित भइरहेको पोखराको पर्यटनलाई आन्तरिक पर्यटनले केही मात्रामा भए पनि भरथेग गरिरहेको अवस्थामा कांग्रेसको प्रदेश अधिवेशनमा आएका ११ सय भन्दा बढी प्रतिनिधिसँगै पर्यवेक्षक तथा कांग्रेसी कार्यकर्ता र लोकसेवाका विभिन्न पदका लागि परीक्षा दिन आएका परीक्षर्थीका कारण पछिल्लो हप्ता पोखराका होटेल भरिएका थिए।
    
कांग्रेसको अधिवेशनमा ११ सय प्रतिनिधिका लागि लेकसाइडका होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो। प्रतिनिधिसँगै संघीय संरचनाअनुसार पहिलो पटक भएको अधिवेशन हेर्न ठूलै सङ्ख्यामा जिल्ला–जिल्लाबाट आएका पर्यवेक्षक एवं कार्यकर्ताले पोखरा भरिएको थियो।

कांग्रेस अधिवेशन र लोकसेवाको परीक्षाले यहाँका होटेल व्यवसायीलाई ठूलै राहत पुगेको पश्चिमाञ्चल होटेल संघ (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

उनका अनुसार अधिवेशन र परीक्षाका कारण पछिल्लो हप्ता साना तथा मझौला होटेलको क्षमताको ७० देखि ८० प्रतिशतसम्म भरिएका थिए। ठूला होटेलमा भने सोही अनुपातमा पर्यटक नभरिए पनि केही न केही राहत भने पुगेको उनले जानकारी दिए।
    
पोखरा पर्यटकीयस्थल हुनुका साथै गण्डकी प्रदेशको राजधानी भएका कारण राष्ट्रिय एवं प्रदेशस्तरका कार्यक्रमले यहाँको होटेल व्यवसायमा समय–समयमा सहयोग पुग्ने गरेको लेकसाइडस्थित होटेल एसियाका सञ्चालक धर्मराज पन्थीले बताए।

प्रकाशित मिति: १२:१९ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्