कांग्रेस महाधिवेशन : ६ प्रदेशको नतिजा सार्वजनिक, संस्थापन पक्षको वर्चस्व
निर्वाचन सम्पन्न भएको ६ प्रदेशमध्य प्रदेश १ मा उद्वव थापा, बाग्मती प्रदेशमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर निर्वाचित भएका छन् ।
काठमाडौं, मंसिर २० : नेपाली कांग्रेसको १४ औं आसन्न महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशको निर्वाचन सम्पन्न भएको छ । आइतबार रातीसम्म प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्वको टुङ्गो लागेको हो।
निर्वाचन सम्पन्न भएको ६ प्रदेशमध्य प्रदेश १ मा उद्वव थापा, बाग्मती प्रदेशमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर निर्वाचित भएका छन् ।
निर्वाचन सम्पन्न भएको प्रदेशहरुमध्य तीन प्रदेशमा संस्थापन पक्षकाे वर्चस्व देखिएको छ भने २ प्रदेशमा पाैडेल पक्ष र सिटाैला पक्षले १ प्रदेशमा जीत हाँसिल गरेकाे छ। प्रदेश १ को सभापति निर्वाचित भएका उद्वव थापालाई पूर्व महामन्त्री कृष्ण सिटौला पक्षका हुन् । उनलाइ कांग्रेस सभापति शेरबहादुर देउवाले पनि समर्थन गरेका थिए।
रामचन्द्र पौडेल र तथा शेखर कोइराला पक्षका उम्मेदवार गुरुराज घिमिरे सभापतिको निर्वाचनमा २ मतले मात्र पराजित भए । मतपरिणाममा चित्त नबुझेपछि घिमिरेले प्रदेश र केन्द्रीय निर्वाचन आयोगमा पुनः मत गणनाको माग गर्दै निवेदन दिएका छन्।
बाग्मती प्रदेशमा दुई पटकसम्म मतदान गरि नेतृत्वको टुङ्गो लगाइएको छ। पहिलो मतदानमा भीमसेनदास प्रधान, इन्द्र बानियाँ र जगदिश्वरनरसिं केसी तीनै जनाले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान भएको हो। दोस्रो चरणको मतदानबाट इन्द्र बानियाँ बाग्मतीको सभापति निर्वाचित भए । उनलाई भीमसेनदास प्रधानले पनि समर्थन गरेका थिए।
त्यस्तै गण्डकी प्रदेशमा भने संस्थापन इतर पक्षका उम्मेदवार शुक्रराज शर्मा विजयी भएका छन्। संस्थापन पक्षका उम्मेदवार अर्जुन जोशीले ५२८ मत प्राप्त गर्दा शर्मा ६१२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेका छन्।
लुम्बिनी प्रदेशमा निर्वाचित अमरसिंह पुन पौडेल पक्षका हुन्। आइतबार सम्पन्न मतगणना अनुसार कुल १ हजार ६३१ मत खसेकोमा पुनले ८६७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका भरतकुमार शाहले ७६७ मत प्राप्त गरे। सभापतिमा पराजित भएका शाह प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिका सभापति समेत हुन्।
कर्णालीमा पनि संस्थापन पक्षकै उम्मेदवार ललितजंग शाही सभापतिमा चुनिए । उनले पौडेल पक्षका भूपेन्द्रजंग शाहीलाई ९१ मतले पराजित गरेका हुन्। ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत प्राप्त गरेका छन् । सभापतिका अर्का प्रत्याशी मोतीराज बमले जम्मा ७ मत ल्याए । बम काँग्रेस उपसभापति विमलेन्द्र निकट हुन् । कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ।
यसैगरी सुदूरपश्चिम प्रदेशको सभापतिमा देउवानिकट वीरबहादुर बलायर निर्वाचित भएका छन्। सुदूरपश्चिममा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो। बलायरले संस्थापनइतरका नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याए । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह महामन्त्रीमा गोपालदत्त भट्ट चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन्।
प्रदेश २ को अधिवेशन भने अनिश्चित बनेको छ। सर्लाही र सप्तरीका केही निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न हुन नसक्दा प्रदेश अधिवेशन रोकिएको हो।
१४ औं महाधिवेशन अन्तर्गत देशभरका १६५ निर्वाचन क्षेत्रमध्य १६० निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न भइसकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए। ‘सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ,’ उनले भने।











-1788524800.jpg)