Kathmandu Press

कागजमा स्रेस्ता मिलाएर होइन, योगदानका आधारमा जिम्मेवारी र कार्यमूल्याङ्कन हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडाैं, मंसिर १९ : ​राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा उत्पन्न परिस्थितिका कारण विभिन्न कालखण्डमा बाहिरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई माउ...
कागजमा स्रेस्ता मिलाएर होइन, योगदानका आधारमा जिम्मेवारी र कार्यमूल्याङ्कन हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडाैं, मंसिर १९ : ​राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा उत्पन्न परिस्थितिका कारण विभिन्न कालखण्डमा बाहिरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई माउ पार्टीमा फर्कन आह्वान गरेका छन्।
    
नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्य शपथ तथा प्रमाणपत्र वितरण समारोहमा उनले पार्टीभित्र कागजमा स्रेस्ता मिलाएर जिम्मेवारी दिने परम्परा तोडेर सङ्गठन विस्तारमा गरेको योगदानका आधारमा कार्यमूल्याङ्कन गरिने भएकाले पलायन भएका नेता तथा कार्यकर्तालाई राप्रपामै फर्केर काम गर्न आग्रह गरे।

अध्यक्ष लिङ्देनले भने, 'पार्टीका सम्पूर्ण जिम्मेवारीमा रहनेलाई काम नगरी बस्न नपाइने नीति अघि सारिनेछ, पार्टीलाई क्रियाशील र जीवन्त तुल्याउन सङ्गठन विस्तार र निर्वाचनमा प्राप्त परिणामका आधारमा जिम्मेवारी दिइनेछ, पार्टीका अग्रजको तुलनामा अनुभव कमी भए पनि इमान्दारी र निष्ठामा कमजोर नभएकाले सबैलाई समेटेर लैजाने मसँग क्षमता र मार्गचित्र छ।'
उनले नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अग्रजको भावनाअनुरूप राप्रपालाई केन्द्रीय राजनीतिमा पुर्‍याउन तथा आफ्ना एजेन्डा स्थापित गर्न सडक र निर्वाचन दुवै अख्तियार गरी अघि बढ्ने घोषणा गरे।

पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशम्शेर जबराले एकता महाधिवेशनमार्फत राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिराग नयाँ पुस्तालाई हस्तान्तरण गरिएकाले पार्टीमा ताजापन ल्याएर एजेन्डा कार्यान्वयनमा सफलता मिल्ने विश्वास व्यक्त गरे।

निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनले नेतृत्व पुस्तान्तरण गरेसँगै लोकतान्त्रिक सिद्धान्त, विधि र पद्धतिका आधारमा पार्टीलाई अग्रणी राष्ट्रवादी शक्तिका रूपमा अघि बढाइने विश्वास व्यक्त गरे।

पार्टीहित विपरीत कोही अघि बढ्न खोजेमा सशक्त प्रतिरोधमा उभिने अठोट गर्दै उनले सामूहिक नेतृत्वका आधारमा दललाई अघि बढाएर आगामी निर्वाचनमा राप्रपालाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनाउने गरी काम गर्न सबैलाई सुझाव दिए।

नवनिर्वाचित उपाध्यक्ष विक्रम पाण्डेले मुलुकमा लामो समयदेखि विषय उठेको तर कार्यान्वयनका लागि कसैले हिम्मत नगरेको राजनीतिमा पुस्तान्तरणका विषयमा राप्रपाले बाजी मारेर उदाहरण प्रस्तुत गरेको बताए।

एकता महाधिवेशन केन्द्रीय निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले पार्टीको नेतृत्व जुझारु, ऊर्जाशील र दूरदर्शी युवापुस्तामा हस्तान्तरण भएकाले अनुभवी पुस्तालाई हरतवरले सहयोग पुर्‍याउन सुझाव दिए।

राप्रपाको शनिबार सम्पन्न महाधिवेशनले अध्यक्ष, पदाधिकारी र केन्द्रीयको निर्वाचनमार्फत चयन गरेको छ। यसअघि समारोहमा नवनिर्वाचित पदाधिकारी र सदस्यलाई शपथ गराउनका साथै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो

प्रकाशित मिति: १९:४१ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्