Kathmandu Press

पराजयबाट अत्तालिएका कमल थापाले भने– यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?

उनको हारले राजनीतिक वृत्तमा राप्रपा फुट्न सक्ने अनुमान पनि हुन थालेकाे छ। त्यहीबीचका उनको यो अभिव्यक्तिले त्यही अनुमानले मूर्तरूप लिने त होइन भन्ने आकलनलाई थप बल पुगेको देखिन्छ।  
पराजयबाट अत्तालिएका कमल थापाले भने– यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?

काठमाडौं, मंसिर १६ : लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा रहँदै आएका कमल थापा अध्यक्षमा पराजित भएलगत्तै आज (आइतबार) सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

पराजयका कारण उनी निकै विचलित बनेको आभास उनको अभिव्यक्तिबाट बुझ्न सकिन्छ। आफूलाई अध्यक्षमा पराजित गर्ने राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएर लोकतान्त्रिक विधि र पद्धतिको सम्मान गरेकाे बताउने उनी पुर्वराजपरिवारमाथि भने असन्तुष्ट बनेका छन्।

उनले पछिल्लोचोटि ट्विट गरेर आफ्नो अन्तरमनभित्र गम्भीर प्रश्न उब्जिएको बताउँदै राजेन्द्र थापाले लेखेको र अरुणा लामाले गाएको गीत साभार गरेका छन्।

‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गम्भीर प्रश्नचिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो,’ उनले ट्विटरमा लेखेका छन्,

‘पोहोर साल खुसी फाट्दा जतन गरि मनले टालें,

त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टाले,

यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?’

उनको ट्विटमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन्। एकजना रिप्लाई गर्दै ‘फेरि पार्टी फोर्ने? लु अग्रिम बधाई’ भनेका छन्। अर्का एकजनाले अध्यक्ष सम्बोधन गर्दै अधिकांश सक्रिय सदस्य साथमा रहेकाले उपयुक्त निर्णय लिन उक्साएका छन्।

त्यसैगरी पार्टी सत्ताबाट बाहिरिँदैमा सर्वस्व गुम्दैन भन्ने बुझ्दा राम्रो हुन्छ भनेर सुझाव दिने पनि छन्।

एकजनाले थापाले कुण्ठा पोखेको उल्लेख गर्दै बालकृष्ण समको कविता साभार गरेर उनको टिप्पणी गरेका छन्।

उनले रिप्लाईमा लेखेका छन्, ‘तपाईंको कुण्ठा देखेर मलाई पनि एउटा कविता याद आयो,

म खाउँ म लाउँ सुखशयल वा मोज म गरुँ,

मै बाँचु मै नाचुँ अरु सब मरुन् ती दुर्बलहरु,

भनी दाह्रा धस्ने अबुझ षठदेखि छक्क परि,

चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी।’

यीबाहेक अन्य धेरैखालका प्रतिक्रिया रिप्लाईका रूपमा आएका छन्।

उनको हारले राजनीतिक वृत्तमा राप्रपा फुट्न सक्ने अनुमान पनि हुन थालेकाे छ। त्यहीबीचका उनको यो अभिव्यक्तिले त्यही अनुमानले मूर्तरूप लिने त होइन भन्ने आकलनलाई थप बल पुगेको देखिन्छ।  

प्रकाशित मिति: १६:२७ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्