Kathmandu Press

कोरोनाविरुद्धको खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी, मंसिर १९ः भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग...
कोरोनाविरुद्धको खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी, मंसिर १९ः भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । 

बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए। ‘भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ ।’ देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ । उनले भने, ‘कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ।’

भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ । खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ । 

यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिए ।  झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो । 

सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ । जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्