Kathmandu Press

भरतपुरमा २१ करोड लागतमा खानेपानी आयोजना, प्रचण्डद्वारा शिलान्यास

भरतपुर, मंसिर १८ः भरतपुर महानगरपालिका–२६ स्थित दिव्यनगर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आज  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
भरतपुरमा २१ करोड लागतमा खानेपानी आयोजना, प्रचण्डद्वारा शिलान्यास

भरतपुर, मंसिर १८ः भरतपुर महानगरपालिका–२६ स्थित दिव्यनगर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आज  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको शिलान्यास गरेका हुन्। 

आयोजनाको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले देशमा चितवनले विकासको मोडेल प्रस्तुत गरेको उल्लेख गर्दै धमाधम आयोजना शिलान्यास भइरहेको बताए । चितवनमा हुने आर्थिक विकास राष्ट्रियरूपमा अध्ययन गर्ने विषय हुनुपर्ने उनको भनाइ थियो । जिल्लाको विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट करोडौँ बजेट विनियोजन भएको दाहालले जानकारी दिए।

२० करोड ९८ लाख ४१ हजार १८१ को लागतमा निर्माण हुन लागेको आयोजनाका लागि सरकारको ९० प्रतिशत र उपभोक्ताको १० प्रतिशत लगानी रहनेछ । आयोजना निर्माण गर्ने जिम्मा भीमेश्वर डिलिङ तथा निर्माण सेवाले पाएको छ । 

सम्झौताअनुसार आयोजनामा ४५० घनमिटरको एउटा ओभरहेड ट्याङ्की, कार्यालय भवन, गार्ड हाउस, १२६ किमी पाइप जडान, एक हजार ८५५ धारा जडान आगामी २०८० असार ७ गतेभित्रमा सम्पन्न गर्नुपर्ने दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तुलाराम आचार्यले जानकारी दिए। 

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा तीव्र विकास भइरहेको उल्लेख गर्दै कालोपत्र र ग्राभेलमा कायापलट गरेको जिकिर गरिन् । उनले महानगरको एक मात्र उद्देश्य विकास निर्माण रहेकाले आवश्यकताका आधारमा हरेक क्षेत्रमा बजेट विनियोजन गरेको बताइन्। 

भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले दिव्यनगर खानेपानी आयोजना निर्माणपछि एक हजार ८५५ घरधुरीले शुद्ध खानेपानी पाउने बताए । धेरै समयको मेहेनतपछि आयोजना शिलान्यास भएको भन्दै उहाँले खुशी व्यक्त गरे। 

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्