कांग्रेस प्रदेश नेतृत्वका लागि आज चुनाव हुँदै
काठमाडौं, मंसिर १८ : नेपाली कांग्रेसको प्रदेश नेतृत्वका लागि ६ वटा प्रदेशमा चुनाव हुन लागेको छ। प्रदेश २ मा भने अधिवेशन हुन सकेको...
काठमाडौं, मंसिर १८ : नेपाली कांग्रेसको प्रदेश नेतृत्वका लागि ६ वटा प्रदेशमा चुनाव हुन लागेको छ। प्रदेश २ मा भने अधिवेशन हुन सकेको छैन।
कांग्रेस प्रदेश निर्वाचन समितिहरुका अनुसार शुक्रबार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा उम्मेदवारी दर्ता भएको छ। प्रदेश सभापतिका लागि ६ प्रदेशमा १४ जनाले उम्मेदवारी दिएका छन्।
प्रदेश १ मा उद्धव थापा र गुरुराज घिमिरे सभापतिमा भिड्दै छन्। थापा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट र घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भिड्न लागेका हुन्।
त्यस्तै, बागमतीमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसी उम्मेदवार बनेका छन्। देउवा पक्षबाट बानियाँ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट प्रधान र पौडेल पक्षबाट केसी उम्मेदवार छन्।
गण्डकीमा अर्जुन जोशी र शुक्रराज शर्मा प्रतिस्पर्धामा छन्। जोशी देउवा पक्षबाट र शर्मा पौडेल पक्षबाट उम्मेदवार भएका हुन्।
यसैगरी, लुम्बिनीमा भरतकुमार शाह र अमरसिंह पुन सभापतिका उम्मेदवार छन्। शाह देउवा पक्षबाट र पुन पौडेल पक्षबाट चुनाव लड्न लागेका हुन्।
कर्णालीमा ललितजङ्ग शाही, भूपेन्द्रजङ्ग शाही र मोतीराज बम चुनावी मैदानमा छन्। ललितजंग देउवा पक्षबाट, भूपेन्द्रजंग पौडेल पक्षबाट र बम सिटौला पक्षबाट उम्मेदवार बनेका हुन्।
यस्तै, सुदूरपश्चिममा वीरबहादुर बलायर र नारायण मिश्र प्रतिस्पर्धामा छन्। बलायर देउवा पक्षबाट र मिश्र पौडेल पक्षका उम्मेदवार हुन्।
प्रदेश २ मा भने सर्लाहीका केही ठाउँमा प्रतिनिधि छनोट हुन नसकेकाले प्रदेश अधिवेशन सुरु हुन सकेको छैन। विवाद मिलाउने प्रयास भइरहेको प्रदेश अधिवेशन आयोजक कमिटीले जनाएको छ।
उम्मेदवारी दर्ता भएका ६ वटै प्रदेशमा भने आज मतदान हुनेछ।











-1788524800.jpg)