Kathmandu Press

भूकम्प गएको छ वर्षपछि ठडियो काष्ठमण्डप

काठमाडाैं, मंसिर १७ : ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको  छ भने यही महिनामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। गोरखा...
भूकम्प गएको छ वर्षपछि ठडियो काष्ठमण्डप

काठमाडाैं, मंसिर १७ : ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको  छ भने यही महिनामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। गोरखा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको सम्पदा छ वर्षपछि पुनःनिर्माण पूरा हुनलागेको हो। विसं २०७५ वैशाख १६ गतेदेखि काष्ठमण्डप पुनःनिर्माण समितिमार्फत निर्माणको काम सुरु गरिएको थियो।

समितिले आज यहाँ कार्यप्रगति बारे जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजेश शाक्यले सम्पूर्ण काम सकिएको र काष्ठमण्डपको बाहिरी घेरामा काठको बार लगाउने काम भइरहेकाले उक्त काम सकेपछि राष्ट्रप्रमुखबाट उद्घाटनको मिति तय गरिने जानकारी दिए।  

Hardik ivf

'काष्ठमण्डप पुनःनिर्माणको काम लगभग सकियो, केही सानातिना काम मात्र बाँकी छ, यही महिनाको अन्तिमसम्ममा उद्घाटन गर्छौं,' शाक्यले भने। उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको ११ करोड ५० लाख रूपैयाँ आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिबाट निर्माण भएको हो।

छ जिल्लाबाट ल्याइयो काठ

काष्ठमण्डप पुनःनिर्माणमा तराईका विभिन्न छ जिल्लाबाट ल्याइएका सालको काठ प्रयोग गरिएको बताइएको छ। शाक्यका अनुसार काष्ठमण्डप पुनःनिर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवनबाट ल्याइएको सालको काठ प्रयोग गरिएको छ। अन्य काठको तुलनामा सालको काठको आयु धेरै (टिकाउ) हुने भएकाले काष्ठमण्डप पुनःनिर्माणमा सालको काठ नै प्रयोग गरिएको शाक्यको भनाइ छ।

काष्ठमण्डपको मूल थाममा प्रयोग भएको काठ महोत्तरीबाट ल्याइएको हो। ‘काष्ठमण्डपका मूल चार वटा थाममध्ये एउटा थाम पुरानै र तीन नयाँ थाम प्रयोग गरिएको छ। पुरानो थाम हजार वर्ष पुरानो हो भने नयाँ थाम महोत्तरीबाट ल्याइएको अग्राखको हो। पुनःनिर्माणका क्रममा धेरै नयाँ काठको प्रयोग भए पनि केही पुराना काठको पनि प्रयोग भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

पुनःनिर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटालगायतका सामग्री प्रयोग गरिएको छ। पुनःनिर्माणका लागि धरहरा र ताहाचलको माटो प्रयोग गरिएको छ। विगतमा काष्ठमण्डपमा प्रयोग गरिएको माटो परीक्षण गर्दा  मिल्ने खालको माटो ताहाचल र केही धरहरासँग मिलेको हुनाले यी दुवै ठाउँको माटो प्रयोग गरिएको हो। त्यसैगरी ढुङ्गा, तेलिया इँटा र झिँगटी इँटा भक्तपुरबाट ल्याइएको थियो। तेलिया इँटा भुइँमा र झिँगटी इँटा छानामा प्रयोग गरिएको छ।

प्रकाशित मिति: २०:०३ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्