पर्सामा देउवा समूहबाट दुई तिहाइ महाधिवेशन प्रतिनिधि
काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पर्सामा भएको अधिवेशनमा संस्थापन पक्षले अत्यधिक प्रतिनिधि आफ्नो पोल्टामा पारेको छ। संस्थापन पक्षबाट दुई तिहाइ...
काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पर्सामा भएको अधिवेशनमा संस्थापन पक्षले अत्यधिक प्रतिनिधि आफ्नो पोल्टामा पारेको छ। संस्थापन पक्षबाट दुई तिहाइ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
पर्सा जिल्लामा ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ सय महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा संस्थापनबाट ७५ जनाले जित हासिल गरेका हुन्। संस्थापन इतर पक्षका भने कुल २५ जना मात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।
पर्सामा संस्थापन देउवा पक्षमा केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसिया, पूर्वमन्त्री एवं पूर्व जिल्ला सभापति सुरेन्द्र चौधरी, प्रदेश सरकारका मन्त्री ओमप्रकाश शर्माबीच समीकरण बनेको थियो भने संस्थापन पक्ष इतर पक्षमा भने जिल्ला सभापति अजय द्विवेदी र पूर्वजिल्ला सभापति राजेन्द्रबहादुर अमात्यको समीकरण रहेको थियो।
बिहीबार साँझ घोषित मतपरिणामअनुसार पर्सा–१ मा मात्र संस्थापन इतरले बहुमत महाधिवेशन प्रतिनिधि जितेको छ। पर्सा-१ मा २५ जना महाधिवेशन प्रतिनिधिमध्ये संस्थापन पक्षका पाँचजना मात्र आएका छन्।
संस्थापन इतर समूहका २० जना छन्। क्षेत्र २ मा संस्थापन पक्षले २४ जना प्रतिनिधि जितेको छ। संस्थापन इतरले एकवटामा मात्र चित्त बुझाउनुपरेको छ।
पर्सा ३ मा भने संस्थापन समूहले २५ मा २५ प्रतिनिधि हात पारेको छ। पर्सा ४ मा भने संस्थापन समूहका २१ जनाले विजयी हासिल गर्दा संस्थापन इतर समूहले चार जना मात्र जितेको छ। पर्सा–४ मा सर्वसम्मति र अन्य क्षेत्रमा प्रतिस्पर्धा भएको हो।
क्षेत्रीय अधिवेशनबाट निर्वाचित क्षेत्रीय सभापतिमध्ये संस्थापन पक्षले तीनवटामा पकड जमाएको छ। संस्थापन इतर समूहबाट एकजना मात्र सभापति विजयी भएका छन्।
क्षेत्र १ मा संस्थापन इतर समूहका अरविन्द गुप्ता, २ मा संस्थापनका महम्मद शाहाबुद्दिन, ३ मा संस्थापनबाट श्रीकृष्ण चौहान र ४ मा पनि संस्थापनकै जीवनकृष्ण सापकोटा विजयी भए।
१४ वटा पालिका रहेको पर्सामा पालिका अधिवेशन र जिल्ला अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि मात्रै हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।











-1788524800.jpg)