चितवनमा शुक्रबारदेखि मतदाता नामावली सङ्कलन
चितवन, मंसिर १६ : जिल्लामा यही मङ्सिर १७ गते (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्यलाई विषेश कार्यक्रमका साथ सञ्चालन गरिने भएको छ। जिल्ला निर्वाचन...चितवन, मंसिर १६ : जिल्लामा यही मङ्सिर १७ गते (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्यलाई विषेश कार्यक्रमका साथ सञ्चालन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका सात पालिकामा नामावली सङ्कलन सुरु गर्न लागिएको जनाएको हो।
कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लाका तीन पालिकामा पहिलो चरणमा र अन्य तीन पालिकामा दोस्रो चरणमा नामावली सङ्कलन गर्ने जानकारी दिए। उनका अनुसार पहिलो चरणमा मङ्सिर १७ देखि पुस २ गतेसम्म माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा नामावली सङ्कलन गरिने छ । यस्तै दोस्रो चरणमा रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पुस ४ देखि १८ गतेसम्म सञ्चालन हुने छ। भरतपुर महानगरपालिकाका लागि भने निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नामावली सङ्कलन गरिने उनले जानकारी दिए। यसका लागि कार्यालयले २१ जना कर्मचारी परिचालन गर्न लागेको छ।
पालिकाहरूले वडास्तरमा केन्द्र तय गरी नामावली सङ्कलनको काम गर्ने तयारी गरिरहेका छन्। कार्कीका अनुसार नागरिकता जारी भएको जिल्ला वा स्थायी बसोबास अन्य पालिकाको भए जिल्ला निर्वाचन कार्यालयबाट नामावली सङ्कलन गर्न सकिने छ। नागरिकता जारी भएको मितिमा नै नामावली दर्ता गराउन सकिने भए पनि मतदानका लागि भने १८ वर्ष पूरा भएको हुनुपर्ने हुन्छ। फोटोसहितको मतदाता नामावली सङ्कलन सरकारले विसं २०६६ चैतबाट लागू गरेको हो।
नामावली दर्ता गराउन आउँदा नागरिकताको सक्कल, बसाइँसराइ भए बसाइँसराइ कागजपत्र, विवाह दर्तालगायतका कागज अनिवार्य ल्याउनुपर्ने हुन्छ। अन्य समयमा जिल्लामा जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मात्रै नामावली सङ्कलन गरिएको थियो। जिल्लामा हाल १८ वर्ष पूरा भएका तीन लाख ६८ हजार ३८२ मतदाता रहेका छन्। अहिले यस कार्यालयबाट तीन लाख ७८ हजार ७२१ ले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। उमेर पुगेपछि मात्रै उनीहरुको नाम मतदाता नामावलीमा दर्ता हुन्छ।
कार्यालयले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिकामा एक लाख ८० हजार ४३४ जनाले नमावली दर्ता गराएका छन्। उनीहरुमध्ये एक लाख ७६ हजार ५६ जना १८ वर्ष पूरा गरेका छन्। यस्तै रत्ननगर नगरपालिकामा ५० हजार ९२४ जनाले नाम दर्ता गराएको भए पनि ४९ हजार ४९० जना १८ वर्षमाथिका छन्।
खैरहनी नगरपालिकामा ४१ हजार २५३ मध्ये ४० हजार ४४ जना १८ वर्ष माथिका, राप्तीमा ३७ हजार १७१ ले नामावली दर्ता गराएको भए पनि १८ वर्षमाथिका ३५ हजार ८२१ जना छन्। कालिका नगरपालिकामा २८ हजार ७२१ मध्ये २७ हजार ८६३ जना १८ वर्षमाथिका छन्। यस्तै माडी नगरपालिकामा २५ हजार ८१४ को नामावली दर्ता गराएको भए पनि २५ हजार १४७ जना र इच्छाकामना गाउँपालिकामा १४ हजार ४०० नाम दर्ता भएकामा १३ हजार ९६१ जना १८ वर्षमाथिका रहेका छन्। विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा तीन लाख ५४ हजार ३४ जना मतदाता रहेका थिए।