Kathmandu Press

वाग्मती सरकारकाे न्यूनतम साझा कार्यक्रम सार्वजनिक, चैत मसान्तसम्म याेग्य सबैलाई खोप (पूर्णपाठसहित)

न्यूनतम साझा कार्यक्रममा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्‍याउने विषय पनि उल्लेख गरिएको छ।
वाग्मती सरकारकाे न्यूनतम साझा कार्यक्रम सार्वजनिक, चैत मसान्तसम्म याेग्य सबैलाई खोप (पूर्णपाठसहित)

हेटाैंडा, मंसिर १६ : वाग्मती प्रदेश सरकारले आज (बिहीबार) न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।

गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि प्रदेश सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो।

न्यूनतम साझा कार्यक्रम तयार पार्न प्रदेशसभा सदस्य युवराज दुलालको संयोजकत्वमा बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदल गठन गरिएको थियो। 

सो कार्यदलले व्यापक अध्ययन र छलफलपछि तयार परेको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सार्वजनिक गरेका हुन्।

कार्यदलले कोभिड–१९ को महामारीबाट प्रदेशवासीको जीवनरक्षा, संविधानको सर्वोच्चता, सुशासन, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, गुणस्तरीय शिक्षा, आर्थिक सामाजिक रुपान्तरणलाई प्राथमिकता दिइएको संयोजक दुलालले बताए।

त्यसैगरी पथमिकताको सूचीमा कृषि तथा उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण र प्राकृतिक प्रकोपबाट पीडित नागरिकको पुनःस्थापनालगायत कार्यक्रम पनि प्राथमिकतामा राखिएको जनाइएको छ।

न्यूनतम साझा कार्यक्रममा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्‍याउने विषय पनि उल्लेख गरिएको छ।

चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने लक्ष्यसहित प्रदेश अस्पतालहरुको सुदृढीकरण गरी कोभिड–१९ को उपचार र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, कोभिड–१९ को उपचारमा खटिएका नागरिकलाई प्रोत्साहन भत्ता निरन्तरता दिने पनि उल्लेख गरिएको छ।

प्रदेश प्रहरी समायोजन गरी प्रदेश प्रहरी सञ्चालन गर्ने, प्रदेशको शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न प्रदेश अनुसन्धान ब्युरो गठन गरिने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहको विकास कार्यक्रममा तालमेल ल्याउने र तल्लो तहदेखि जनता र जनप्रतिनिधिहरुको भावना समेट्ने गरी योजना तर्जुमा प्रणालीको व्यवस्था गर्ने पनि सो कार्यक्रममा उल्लेख छ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले आगामी केही दिनमै प्रदेश सरकारले ती कार्यक्रम कार्यान्वयन गर्ने र सोही कार्यक्रमका आधारमा गठबन्धन सरकार सञ्चालन गर्ने बताए।

 

 

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्