Kathmandu Press

बचत रकम फिर्ता नदिएको भन्दै सिभिल सहकारीविरुद्ध पीडितहरुको प्रदर्शन (तस्बिरसहित)

काठमाडौं, मंसिर १६ : काठमाडौंको सोल्टिमोडस्थित सिभिल सेभिड्स एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड सहकारीका निर्णायक सल्लाहकार इच्छाराज तामाङलगायत सहकारीका अन्य सञ्चालकविरुद्ध बिहीबार विरोधसभा...
बचत रकम फिर्ता नदिएको भन्दै सिभिल सहकारीविरुद्ध पीडितहरुको प्रदर्शन (तस्बिरसहित)

काठमाडौं, मंसिर १६ : काठमाडौंको सोल्टिमोडस्थित सिभिल सेभिड्स एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड सहकारीका निर्णायक सल्लाहकार इच्छाराज तामाङलगायत सहकारीका अन्य सञ्चालकविरुद्ध बिहीबार विरोधसभा आयोजना भएको छ।

आफूले जम्मा गरेको रकमलाई दुरुपयोग गरेको भन्दै सहकारी संस्था विरुद्ध ‘हाम्रो बचत फिर्ता गर’, ‘संगठित ठगीका गिरोहलाई कारबाही गर’ लगायतका प्लेकार्डसहित बचतकर्ताहरूले विरोधसभा गरेका हुन्।  

सो सहकारीका पूर्वअध्यक्षसमेत रहेका इच्छाराज तामाङ, उनकी पत्नी सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठ तथा सहकारीका अन्य संचालकविरुद्ध सो संस्थाका पीडितहरुले आज (बिहीबार) माइतीघर मण्डलामा विरोधसभा आयोजना गरेका हुन्। 

दुई हजारभन्दा बढी बचतकर्ता रहेको सो सहकारी संस्थाले आफूहरूलाई ठगेको आरोप लगाउँदै पीडितहरुले विरोधसभा आयोजना गरेका हुन्। ज्येष्ठ नागरिक, महिला तथा गरिब जनताले जीवनभर खाई नखाई बचत गरेको रकम मासिक घर खर्च चलाउन, औषधि उपचार गर्न र बढेसकालको आफ्नो आर्थिक सुरक्षाका लागि यस सहकारीमा पैसा जम्मा गरेको उनीहरूले बताएका छन्। 

सो सहकारीबाट सञ्चालकहरूले ८ अर्ब ५७ करोड ३८ लाख भन्दा बढी रुपैयाँ गैरकानुनी रुपले बिनाधितो उनीहरुका निजी हाउसिङ कम्पनीहरू (सिभिल होम्स, सिभिल अपार्टमेन्ट्स र सिभिल इस्टेट्स) मा २०६३ सालदेखि विभिन्न समयमा ऋणका रूपमा लगेको र हालसम्म उक्त ऋणको साँवा तथा ब्याज नतिरी सहकारीलाई धराशायी बनाउन खोजिएको आरोप विरोधकर्ताहरूले लगाएका छन्।

बचतकर्ताहरुका अनुसार गत दुई वर्षदेखि आफ्नो बचतखातामा रहेको रकम उनीहरूले पाएका छैनन्। उनीहरूलाई दैनिक खर्च टार्न तथा औषधि उपचार गर्न पैसाको ज्यादै ठुलो अभाव भएको छ। पैसाको अभावले शल्यक्रिया गर्न र औषधि उपचार गर्न नपाएर आठजना बचतकर्ताहरुको मृत्युसमेत भइसकेको जनाइएको छ।

संगठित अपराधमा अन्य ३३ जना मतियारका रूपमा संलग्न रहेको उनीहरूले जनाएका छन्। 

यस्ता छन् पीडितका माग

१. काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयबाट तामाङको समूहविरुद्ध कडा अभियोग–पत्र अदालतमा दर्ता होस्।
२. चाँडोभन्दा चाँडो बचतकर्ताको रकम सरकारबाट फिर्ता दिलाई पाऊँ।
३. सहकारी विभाग र नेपाल राष्ट्र बैंकबाट सहकारीको राम्रो अनुगमन र निर्देशन होस्।
४. नेपालका सहकारीमा हुने गैरकानुनी काम, ठगी र संगठित अपराध नियन्त्रण गर्न नेपालको संसदले चीन, बेलायत, फ्रान्स र अमेरिकामा जस्तै कडा कानुन बनाओस्।
५. अदालतबाट निस्पक्ष फैसला होस् र निज तामाङको समूहमाथि कडाभन्दा कडा सजाय होस्, ताकि अन्य सहकारीका सचालकले पनि गैर कानुनी काम, ठगी र संगठित अपराध गर्न नपाऊन्।


 

प्रकाशित मिति: १४:४४ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्