आमाछोरी अचार : चारपांग्रे स्कुटीमा रूपाका आमाछोरी अचार बेच्छन्
म्यानमारमा एउटा नर्सको गल्तीले रूपाका दुवै खुट्टा चल्दैनन्, तर उनको सोच छ– आमाछोरी अचारलाई अन्तर्राष्ट्रिय बजारमा चलाउने।
काठमाडाैं, मंसिर १६ : गेटबाट छिर्नेबित्तिकै देखियो, एउटा चारपांग्रे स्कुटी। हामीले सोध्यौँ, ‘यो कसको स्कुटी हो ?’ रूपा अर्यालले हँसिलो मुहारमा भनिन्, ‘मेरो हो, म यसैमा अचार डेलिभर गर्न जान्छु।’
गत बिहीबार उनले हामीलाई जावलाखेलको शान्तिचोकस्थित आफ्नो निवासमा समय दिएकी थिइन्। पहिले नै फोनमा कुरा भएकाले हामी पुग्दा उनी बैसाखी टेकेर गेटमा कुरिरहेकी थिइन्।
दक्षिण भारतीय फिल्म ‘मिस इन्डिया’ हामी धेरैले हेरेका छौँ। जसमा एक युवतीले आफ्नो परिचय स्थापित गर्न सानो चियापसल राखेर व्यापार गर्छिन्। व्यापारलाई स्थापित गर्न उनले धेरै मेहनत गर्छिन्, कति ठाउँमा हार खाने अवस्था समेत आउँछ, तर अन्त्यमा उनी सफल हुन्छिन्।
फिल्म त जस्तो चाह्यो, त्यस्तै बनाउन सकिन्छ, तर वास्तविक जीवनको संघर्ष सहज हुँदैन। लक्ष्यमा पुग्न आँट र अभ्यास चाहिन्छ। यसको एक उदाहरण हुन्, ३० वर्षीया रूपा। उनी विगत एक वर्षदेखि घरेलु अचारको व्यवसायमा व्यस्त छिन्, जसको नाम उनले ‘आमाछोरी’ दिएकी छन्।
रूपा र उनकी आमा मिलेर यो व्यवसाय सञ्चालनमा ल्याएको भएरै उत्पादनको नाम ‘आमाछोरी अचार’ राखिएको हो।

उनको ढोकाबाट छिर्नेबित्तिकै अचारको मिठो बास्ना आयो। उनकी आमा हातमा डाडु लिएर भान्सामा काम गर्दै थिइन्। ‘शुक्रबार र शनिबार भक्तपुरको एक रेस्टुरेन्टमा अचारको स्टल राख्दै छौँ,’ रूपाले भनिन्, ‘भर्खरै यो व्यवसाय सुरु गरेको। मार्केट खोज्नै गाह्रो भइरहेको छ।’
दोस्रो लकडाउनअघि विभिन्न रेस्टुरेन्टमा स्टल राख्दा दैनिक पाँच हजारसम्म व्यापार हुन्थ्यो। लकडाउनका कारण काम पनि रोकियो। ‘अब बिस्तारै अर्डर आउन थालेको छ,’ उनले भनिन्।
अहिलेसम्म उपत्यका लगायत बुटवल, इटहरी, मोरङ, चितवन र भैरहवामा आफ्नो उत्पादन निर्यात गरिसकेको उनी बताउँछिन्।
अचार बनाउने सोच
रूपाको यो व्यवसाय एक हिसाबले पारिवारिक व्यवसाय समेत बनेको छ। बुबा भीम अर्यालले कालीमाटीदेखि आवश्यक सामान ल्याउँछन्। अनि, आमा (कुमारी अर्याल) र छोरी (रूपा) मिलेर अचार बनाउँछन्। र, दुवैजना रूपाको स्कुटीमा अचार पु¥याउन जान्छन्। रूपाकी आमा कुमारीले पहिला होटल चलाएकी थिइन्, त्यसैले उनलाई अचार र भान्सासम्बन्धी अनुभव छ। नलाई धेरै ज्ञान छ। अचार बेच्न जाँदा स्टलमा प्रायः ममी र मलाई नै देख्ने भएर पनि यसलाई आमाछोरी अचार नाम दिएका हौँ।’
सुरुमा उनीहरुले अचारको ‘ब्रान्ड’ नाम ‘आमाछोरी’ राखेका थिएनन्। माछाको अचार, चिकेन अचार, माछाको अचार भनेरै बेच्थे।

व्यवसायमा लाग्नु अघि रूपाले एनजिओहरूमा समेत काम गरिन्। तर त्यस क्षेत्रमा खुसी हुन नसकेपछि उनी अचार व्यवसायमा लागेकी हुन्।
‘काम खोज्ने होइन, अरुलाई काम दिने सोच बनाएँ,’ उनी भन्छिन्, ‘घरमा साथीहरू आउँदा ममीले अचार बनाएर खुवाउनुभएको थियो। साथीहरूले धेरै मन पराए। साथीहरूले यसैको व्यवसाय गर भनेर सुझाव दिएपछि सुरु गरेको हो।’
आफ्नो करिअरका बारेमा सोच्न सक्ने भएदेखि नै रूपमा केही गर्न चाहन्थिन्।
‘अहिले त मैले आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने सोचेकी छु,’ उनी भन्छिन्, ‘मलाई भाइ–बहिनी लगायत परिवारले केही गर्नुपर्दैन, हामी हेर्छौं भन्छन्। तर मलाई डिपेन्डेन्ट हुन मन छैन। आफ्नै बलले हाम्रो उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने लक्ष्य छ।’
जन्म
परिवारमा तीन सन्तानमध्ये रूपा जेठी हुन्। रूपाले घरमा निकै स्नेहको वातावरण पाइन्।
उनको जन्मे म्यानमारमा भएको हो। उनका हजुरबुवा दोस्रो विश्वयुद्धताका ब्रिटिस सेना भएर म्यानमारमा थिए। उनले परिवारलाई म्यानमार लगे। यही सिलसिलामा रूपा म्यानमारमा जन्मिइन्। पछि बर्मामा बस्न समस्या भएपछि उनीहरु नेपाल आए, त्यहाँको सबै घरजग्गा बेचेर।
जन्मँदा रूपा सामान्य अवस्थामा थिइन्, तर दुई वर्षमा उनको स्वास्थ्यमा समस्या देखियो। उपचारका क्रममा दुवै खुट्टा चल्न छाडे। ‘म जन्मेका बेला अरु बच्चाहरू जसरी नै बामे सर्ने, पाइला टेक्ने गर्थें रे। दुई वर्षको छँदा अत्यधिक ज्वरो आएको थियो। म्यानमारकै एउटा अस्पतालमा उपचार गराउन जाँदा एक सिकारु नर्सले सुई लगाइदिएपछि बिस्तारै खुट्टा चल्न छाडेको हो,’ रूपा भन्छिन्, ‘चार वर्षको उमेरमा नेपाल आएपछि अहिलेसम्म चारपटक खुट्टाको शल्यक्रिया गरिसकेँ। त्यसले गर्दा बैसाखीको सहारामा हिँड्न सक्ने भएकी हुँ। पहिला त घिस्रेर हिँड्नुपथ्र्यो।’
अचार विधि
बदामको अचार बनाउँदा सुरुमा काँचो बदामलाई राम्ररी तेलमा भुटिन्छ। त्यसपछि निकालेर आवश्यक मसला रखिन्छ र एकैछिन मसलामा भिज्नका लागि छोडिन्छ। अन्त्यमा यसलाई बट्टामा राखेर स्टिकरहरू टाँसेर जारमा पठाइन्छ। माछा (सिद्रा) को अचार बनाउने विधि पनि लगभर बदामको जस्तै नै छ। तर, चिकेनको अचार बनाउने विधिमा भने केही फरक पाइन्छ।
चिकेनको अचार बनाउँदा सुरुमा बोनलेस (हड्डी नभएको) मासु ल्याइन्छ। राम्ररी पखालेर सानो–सानो टुक्रा बनाइन्छ। त्यसलाई तेलमा तारेपछि आवश्यक मसला राखी केही समय भिज्नका लागि छाडिन्छ। अन्त्यमा बट्टामा राखी स्टिकर टाँसेर बजारमा पठाइन्छ।
उनको उत्पादनमा बदामको अचार १५० ग्रामको २५० रूपैयाँ, माछाको अचार १०० ग्रामको २५० रूपैयाँ र चिकेन अचार २०० ग्रामको ५५० रूपैयाँ मूल्य रहेको छ। उनीहरुले बनाएको बदाम र माछाको अचार नौ महिनासम्म र चिकेनको अचार तीन महिनासम्म स्टोर गरेर राख्न सकिन्छ।











-(86)-1764936079.jpg)
