Kathmandu Press

राप्रपाका तीन अध्यक्षको घोषणा- पार्टी नफुट्ने गरी एकता महाधिवेशन 

काठमाडौं, मंसिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले फेरि दल नफुट्ने गरी एकताबद्ध बनाएर अघि बढ्न एकता महाधिवेशन आयोजना गरिएकामा जोड...
राप्रपाका तीन अध्यक्षको घोषणा- पार्टी नफुट्ने गरी एकता महाधिवेशन 

काठमाडौं, मंसिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले फेरि दल नफुट्ने गरी एकताबद्ध बनाएर अघि बढ्न एकता महाधिवेशन आयोजना गरिएकामा जोड दिएका छन् ।

पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष पशुपतिशम्शेर जबराले दललाई एकताबद्ध बनाइराख्न आफू अध्यक्षको उम्मेदवार नहुने निर्णयमा पुगेको जानकारी दिए । “मैले जितेपछि पार्टी फुट्यो भने तीतो अनुभव हुन्छ, यसैले अध्यक्ष पदमा उम्मेदवार बन्दिनँ, अध्यक्ष दाबेदार मित्र कमल थापा र राजेन्द्र लिङ्देनलाई पनि सर्वसम्मतरूपमा अध्यक्ष निर्वाचित गरेर एकताको सन्देश दिन आह्वान गर्छु, सम्भव भएन भने प्रजातान्त्रिक प्रक्रियाबाट आउने परिणामलाई सबैले मान्नुपर्छ”, उनले भने ।

पार्टीका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दलमा एकता महाधिवेशनले फुटको अन्त्य भई एकताबद्ध भएर अघि जाने वातावरण बन्नेमा आफू विश्वस्त रहेको बताए । “नेपाललाई एकताको सूत्रमा बाँध्न पृथ्वीनारायण शाहका दिव्योपदेशको बाटो अर्थात् पृथ्वीपथ चाहिन्छ, पृथ्वीनारायण शाहले धर्मप्रचारका माध्यमबाट नेपालमा अनेकता ल्याउन खोज्ने पोर्चुगिज पादरीलाई फिर्ता गर्नुभएको थियो, विभिन्न नाममा आउने विदेशीले नेपालमा अनेकता फैल्याउन काम गरेका छन्”, उनले भने ।

नेपालमा राजनीतिक विकासमात्र भई विकासका लागि राजनीति नभएकाले यसतर्फ सबै दलले चिन्तन गर्नुपर्ने पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष लोहनीको भनाइ थियो । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गरी धार्मिक पर्यटन प्रवद्र्धनका माध्यमबाट अर्थतन्त्रको विकासमा योगदान गर्न सकिनेमा उनले जोड दिए । त्रय अध्यक्षमध्येका एक कमल थापाले दलको यो अन्तिम एकता महाधिवेशन हुने बताउँदै यसका लागि तीनै जना अध्यक्षले पार्टी फुट्न नदिने सङ्कल्प गरेको सुनाए । पार्टी नटुक्र्याउन तीनै जना अध्यक्षले गीता छोएर कसम खाएको अध्यक्ष थापाले महाधिवेशन उद्घाटन समारोहमा जानकारी गराए ।

देशलाई अहिले पनि विसं २०३३ मा बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता रहेको उनले बताए । पार्टीका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अन्यायले न्यायलाई छोप्ने प्रवृत्ति बढ्दै जाँदा जनता असन्तुष्ट भएकाले न्यायपूर्ण समाज निर्माण गर्ने गरी राप्रपाले प्रस्ताव पारित गर्न सुझाव दिए । देश र जनताका लागि हिन्दू राष्ट्र र राजसंस्था आवश्यक रहेको उनको भनाइ थियो ।

राप्रपाका तर्फबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा जनता हुँदा पनि पार्टी राष्ट्रिय दल बन्न नसक्नुमा नेतृत्वको कमजोरी रहेको बताए । राप्रपालाई राष्ट्रिय दलका रूपमा स्थापित गर्न कार्यकारिणी फेरिनुपर्ने उनको भनाइ थियो । 
  

प्रकाशित मिति: २०:११ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्