Kathmandu Press

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिएको पहिलो दिनमै सुनुवाइ प्रभावित

काठमाडौं, मंसिर १५ : आज (बुधबार) सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोकिएको पहिलो दिन हो।तर कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विषयमा प्रश्न उठाएपछि आज...
सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिएको पहिलो दिनमै सुनुवाइ प्रभावित

काठमाडौं, मंसिर १५ : आज (बुधबार) सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोकिएको पहिलो दिन हो।

तर कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विषयमा प्रश्न उठाएपछि आज मुद्दाको सुनुवाइ प्रभावित भएको छ।

कानुन व्यवसायीले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै ‘आज प्रधानन्यायाधीश को हो?’ भनेर प्रश्न उठाएका थिए। 

कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश जबरा सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन्।

प्रधानन्यायाधीश को भन्ने विषय निराकरण नगरी मुद्दाको सुनुवाइ गर्न उचित नहुने भनी नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएपछि सुनुवाइ प्रभावित भएको हो।

संविधानको धारा १२९ को (६) मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भए सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ।

न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास गठन गरेर मुद्दा सुनुवाइ गर्न थालेपछि बार अध्यक्ष श्रेष्ठ र सर्वोच्च बार अध्यक्ष पूर्णमान शाक्यले इजलासमा प्रवेश गरी प्रधानन्यायाधीशबारे प्रश्न उठाएका थिए।

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्