बीपी कोइरालालाई सम्झँदै कमल थापाले भने– मुलुकमा राष्ट्रिय मेलमिलापको आवश्यकता छ
२०७३ सालको एकता महाधिवेशन हुँदा आफूले प्रजातान्त्रिक नेता बीपी कोइरालाले बोलेको कुरा फेरि उद्धरणयोग्य योग्य भएको उनले बताए।
काठमाडौं, मंसिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रजातन्त्रवादी नेता बीपी कोइरालालाई सम्झँदै मुलुकमा राष्ट्रिय मेलमिलापको आवश्यकता औंल्याएका छन्।
आज राप्रपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘विभिन्न राजनीतिक दलका कानमा यो कुरा पुगोस्, अहिले पनि मुलुकमा राष्ट्रिय मेलमिलापको खाँचो छ, राष्ट्रियता र प्रजातन्त्र एक ठाउँमा रहेको परिस्थिति निर्माण गर्नुपर्ने आवश्यकता छ।’
२०७३ सालको एकता महाधिवेशन हुँदा आफूले प्रजातान्त्रिक नेता बीपी कोइरालाले बोलेको कुरा फेरि उद्धरणयोग्य योग्य भएको उनले बताए।
उनले भने, ‘लामो निर्वासनपछि २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति बोकेर आउँदा बिपीले व्यक्त गरेको विचार उद्धरण गरेको थिएँ– जतिबेला दक्षिण एसियामा स्वतन्त्र राष्ट्रहरुको राष्ट्रियतामाथि संकट देखा परिरहेको थियो। केही समयअघि मात्र सिक्किम विलय भएको थियो। पाकिस्तान भर्खरै विभाजित भएको थियो। त्यो अवस्थामा बीपी कोइरालाले नेपाल आएर भन्नुभयो– नेपालको अस्तित्व जोगाउन राजा र जनताका बीचमा एकता हुनुपर्छ, मेरो र राजा गर्दन एकै ठाउँमा छ। राष्ट्रियता र प्रजातन्त्र सँगसँगै जानुपर्दछ। पञ्चहरू प्रजातन्त्रवादीसँग नझस्क, प्रजातन्त्रवादीहरू पञ्च र राजासँग नतर्स।’
उनले थपे, ‘अहिलेको सन्दर्भलाइ दृष्टिगत गर्दै भन्न चाहन्छु, लोकतन्त्रवादीहरु राजसंस्थासँग नतर्स, राजसंस्था पक्षधरहरु लोकतन्त्रबाट नझस्क नतर्स। राजा र जनताका बीचमा एकता र राष्ट्रियता र प्रजातन्त्रबीचको समञ्जस्यता अहिलेको आवश्यकता हो। यो नै नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय अस्तित्वको ग्यारेन्टी हो।’
स्थापनाकालदेख रगत र पिसना बगाएका नेता जीवित रहेको उल्लेख गर्दै उनले दिवंगत नेताहरू सूर्यबहादुर थापा, राजेश्वर देवकोटा, रवीन्द्रनाथ शर्मा पद्मसुन्दर लावती, जोगमेहर श्रेष्ठ, हेमबहादुर मल्ल, कृष्णचरण श्रेष्ठ, चन्द्रबहादुर गुरुङलगायत नेताको स्मरण गरे।
अहिलेको विश्व परिवेश संकट उन्मुख रहेको उल्लेख गर्दै उनले नेपालमा बाह्य शक्तिको चलखेल तीव्र रूपले बढेर गएको बताए। ‘विदेशीहरूको रणनीतिक प्रतिस्पर्धाको स्थल नेपाल बन्ने खतरा बढिरहेको छ, प्रजातान्त्रिक मूल्य र मान्यता कमजोर बन्दै गइरहेको छ, राज्यका अंगहरुको प्रभावकारितामा ह्राास आइरहेको छ।’
भ्रष्टाचारको दलदलमा मुलुक भासिएको र राष्ट्रियता र एकता हिजोको भन्दा अहिले बढी संकटपूर्ण रहेको उल्लेख गर्दै उनले अहिलेको समस्या समाधानका लागि राजतन्त्र स्थापना हुनुपर्नेमा जोड दिए।
२०६३ सालपछि हिन्दु राष्ट्रको पहिचानलाई समाप्त पारी नेपाललाई नयाँ बाटोबाट हिँडाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले राजसंस्थालाई पाखा लगाइएको र नेपालको एकात्मक प्रणलीलाई ध्वस्त बनाइएको भन्दै असन्तुष्ति व्यक्त गरे।











