Kathmandu Press

एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना निर्वाचित

एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना निर्वाचित

चितवन, मंसिर १५ः नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलो पटक हो । पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय छ ।

पार्टीको केन्द्रीय उपाध्यक्षमा सुरेन्द्रप्रसाद पाण्डे र रामबहादुर थापा निर्वाचित भएका छन् । पाण्डे र थापा पूर्वमन्त्री हुन् । महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजकमा थापा र सहसंयोजक पाण्डे रहेका थिए । बागमती प्रदेशतर्फबाट पार्वती रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । उनी जिल्ला अध्यक्ष हुन्।

एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशीनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगरप्रमुख प्रभा बराल केन्द्रीय सदस्यमा निर्वाचित भएृका छन्। त्यसैगरी दलित महिलातर्फ शिवकुमारी गोतामे केन्द्रीय समितिमा निर्वाचित भएका छन् । केन्द्रीय सदस्य ज्ञवालीले यति धेरै सङ्ख्यामा केन्द्रीय समितिमा जिल्लाबाट प्रतिनिधित्व पहिलो पटक भएको बताए।

यही मङ्सिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन भएको एमालेको १०औँ महाधिवेशनको बन्दसत्र सौराहामा सम्पन्न भएको थियो । बन्दसत्रमा सहमति गर्ने प्रयास गरिएको भए पनि असफल भएपछि निर्वाचन गरिएको थियो । निर्वाचनअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएका जिल्लाका १० नेता केन्द्रीय समितिमा निर्वाचित भएका हुन्। 

प्रकाशित मिति: १०:०९ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्