प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको : मुख्यमन्त्री राई
माेरङ, मंसिर १४ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।प्रदेश नं १ आइटिफ तेक्वान्दो...
माेरङ, मंसिर १४ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
प्रदेश नं १ आइटिफ तेक्वान्दो सङ्घको २० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित उत्कृष्ट महिला र पुरुष खेलाडी, प्रशिक्षक, जिल्ला र डोजाङलाई सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले खेलकुदलाई प्रविधिसँग जोडी व्यवसायीकरण गरी आयआर्जनको माध्यम बनाउन विशेष ध्यान दिइने धारणा व्यक्त गरे।
मुख्यमन्त्री राईले ताइकान्दोले दक्षिण एशियाली खेलकुद र एशियन खेलकुद प्रतियोगितामा नेपालले सबैभन्दा धेरै पदक जित्न सफल भएको स्मरण गराउँदै ओलम्पिक प्रतियोगितामा पदक जित्ने लक्ष्यका साथ कार्य गर्नुपर्ने आवश्यक्ता औँल्याए।
उनले प्रदेशका दुर्गम क्षेत्रमा खेलकुद सामग्रीको अभावका कारण खेलाडीको प्रशिक्षणमा समस्या भएको चर्चा गर्दै आगामी दिन सरकारले यसका लागि थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। मुख्यमन्त्री राईले प्रदेशमा खेलकुद अधिकतम प्रतियोगिता गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिँदै बजेटको सही ढङ्गले सदुपयोग गर्न आग्रह गरे।
प्रदेशका मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्थाका लागि कानून परिमार्जन गर्ने विश्वास दिलाए। आइटिफका तेक्वान्दोका प्रदेश अध्यक्ष प्रवीणकुमार कार्की, नेकपा एकीकृत (समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मी, आइटिफका प्रदेश उपाध्यक्ष चतुरलाल चौधरी र रविन नगरकोटीले राष्ट्रको पहिचान दिलाउन तेक्वान्दोले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश उत्कष्ट महिला खेलाडीमा झापाकी दीक्षा लिम्बू, पुरुष खेलाडीमा झापाका मिशन श्रेष्ठ, प्रशिक्षकमा राजेन्द्र धिमाल मोरङ, उदयमान प्रशिक्षक नितेश खवास मोरङ, उत्कष्ट जिल्लामा सुनसरी र उत्कृष्ट डोजाङमा मोरङको कानेपोखरीलाई सम्मान गरेका थिए।
आइटिफ प्रदेशका १२ जिल्लामा ४०० महिलासहित एक हजार १०० खेलाडीले दैनिक प्रशिक्षण लिइरहेका छन्। सङ्घले वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी रुपमा विभिन्न जिल्लामा प्रतितियोगिता, रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ।









-1788524800.jpg)

