आगामी महाधिवेशनमा लिङ्देनलाई समर्थन गर्ने प्रकाशचन्द्र लोहनीको घोषणा
काठमाडौं, मंसिर १४ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीको आगामी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै...
काठमाडौं, मंसिर १४ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीको आगामी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन्।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै लोहनीले राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका हुन्। उनले सात बुँदे वक्तव्य जारी गर्दै पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने आफ्नो धारणा रहेको र सोही धारणा बमोजिम लिङदेलनाई समर्थन गरेको बताएका छन्।
उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका अन्य व्यक्तिहरुलाई पनि अभिभावकीय भूमीका खेल्दै नयाँ नेतृत्वलाई काम गर्न दिन आग्रह गरेका छन्।
यस्तो छ लोहनीको वक्तव्यमा समेटिएका ७ बुँदा
१. केही महिना अगाडि मैले राप्रपाको नेतृत्व सहमति मा पुग्नुपर्छ भन्ने भनाई राखेको थिएँ तर त्यो सम्भव नभए नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक छ भन्ने दृष्टिकोण स्पष्ट रुपमा सार्वजनिक माध्यमबाट बोलेको थिएँ। सोही धारणा अनुरुप राप्रपाको नयाँ नेतृत्वमा राप्रपाका पूर्वमहामन्त्री राजेन्द्र तथा माननीय लिङ्देनको पक्षमा उभिएको छु। राप्रपाको आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाई र विश्वास हो।
२ म अन्य दुई मेरा मित्र अध्यक्षहरुलाई पनि पार्टीको हितमा अभिभावकीय भुमीका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्न मौका दिन अनुरोध गर्दछु।
३. संविधान भित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतीप्रति राप्रपा प्रतिवद्ध छ । राप्रपाको कार्यकर्ता देशभक्त छन् र सबै नेपालीको समृद्धीको लिागि प्रतिवद्ध छन्। यो प्रतिवद्धतलाई मूल आदर्शको रुपमा लिएर अगाडि बढौं । नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिऔं ।
४. मेचीदेखि महाकाली देशको सबै क्षेत्र र कुनाकुनाबाट महाधिवेशनमा सहभागी हुन आउनु भएका प्रतिनिधि साथिहरु पार्टीको सर्वोच्च हुनुहुन्छ। तपाईहरुको विवेक र निर्णयले पार्टीको भविष्य निर्धारण गर्नेछ। यस परिवेशमा मेरो अनुरोध स्वीकार गर्नुहुनेछ भन्ने आशा गरेको छु।
५. पार्टिको महाधिवेशनबाट जे निर्णय हुन्छ त्यो हामी सबैका लागि सिरोधार्य हुनु पर्दछ, यही प्रजातान्त्रिक विधि र पद्धती हो र पार्टीलाइ एकतावद्ध राजनैतिक शक्तिको रुपमा स्थापित गर्ने मूलमन्त्र हो।
६. साथीहरु, म विगतका वर्षहरुमा जस्तै भविष्यमा पनि राप्रपा प्रति समर्पित रहनेछु र तपाईहरुसँग काँधमा काँध मिलाएर नेपाल र नेपालीको हितमा काम गर्न सदा सक्रिय रहनेछु।
७. अन्तमा राप्रपाको अध्यक्षको हैसियतले विगत दुईवर्ष जति काम गर्दा मप्रति सहयोग, सद्भाव राख्ने तथा मेरो गल्ती÷कमजोरी देखाई आलोचना गर्ने लगायत सबै मित्रहरुमा धन्यवाद व्यक्त गर्दछु।











