कमल थापाले गरे राप्रपा अध्यक्ष पदमा उम्मेदवारी घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।राजधानीमा आयोजित एक कार्यक्रममा...
काठमाडौं, मंसिर १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।
२०७६ फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भएको थियो। उक्त एकीकरणपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आसन्न महाधिवेशनलाई मन वचन र कर्मले एकताको महाधिवेशन बनाउनुपर्ने बताए।
राप्रपाको महाधिवेशनपछि पार्टी फुट्ने इतिहास भएको उल्लेख गर्दै अब त्यस्तो परिपाटी रोकेर पार्टीलाई एकताबद्ध राख्नुपर्नेमा उनले जोड दिए।
उनले भने ‘यो महाधिवेशनपछि राप्रपालाई कहिल्यै फुट्न नदिने सङ्कल्प गरौं।’ उनले आफ्नो ३० वर्षे राजनीतिक यात्रामा यसपालि उम्मेदवारी घोषणा गर्ने र भोट माग्नुपर्ने अवस्था आएको उल्लेख गरे।
‘केही असहज महसुस भए पनि यो परिस्थितिजन्य बाध्यता हो’ उनले भने।
यही मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा राप्रपा महाधिवेशन हुँदैछ। राप्रपा अध्यक्ष पदमा यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।











