Kathmandu Press

एमाले महाधिवेशनः अध्यक्षसहित १४ जना पदाधिकारी निर्वाचनबाट टुंगो लगाइने

काठमाडौं, मंसिर १३ः नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा १४ पदाधिकारी चयनका लागि निर्वाचन हुने भएको छ। बन्दसत्रमा केपी शर्मा ओलीले प्रस्ताव गरेका पदाधिकारीमा असन्तुष्ट...
एमाले महाधिवेशनः अध्यक्षसहित १४ जना पदाधिकारी निर्वाचनबाट टुंगो लगाइने

काठमाडौं, मंसिर १३ः नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा १४ पदाधिकारी चयनका लागि निर्वाचन हुने भएको छ। 

बन्दसत्रमा केपी शर्मा ओलीले प्रस्ताव गरेका पदाधिकारीमा असन्तुष्ट रहेका नेताहरुले धमाधम उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुने भएको हो। 

अध्यक्ष पदमा केपी ओली र भीम रावलबीच प्रतिस्पर्धा हुनेछ । रावललाई सहमतिमा ल्याउन अधिकतम प्रयास भएपनि सोमबार बिहान अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए। 

त्यस्तै उपाध्यक्ष पदका लागि ७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि ओलीले उपाध्यक्षमा सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, राम बहादुर थापा बादल र विष्णु पौडेलको नाम प्रस्ताव गरेका थिए। 

उपाध्यक्ष पदका लागि प्रस्तावित सूचीमा असन्तुृष्टि जनाउँदै  घनश्याम भुसालले उम्मेदवारी दिएका थिए ।भुसालको उम्मेदवारीसँगै ६ जना पदाधिकारीको टुंगो लगाउन ७ जनाबीच प्रतिष्पर्धा हुने भएको छ। 

यस्तै सचिवका लागि ९ जनाबीच प्रतिस्पर्धा हुनेछ। सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्यालको नाम प्रस्तावित थियो। उक्त प्रस्तावमा असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले समेत उम्मेदवारी दिएपछि ७ पदाधिकारीको टुंगो लगाउन ९ जनाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो। 

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत चयन भएका छन्। इश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष निर्वाचित हुँदा शंकर पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै उपमहासचिवका लागि अन्यको उम्मेदवारी नपरेपछि प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका छन्। 
 

प्रकाशित मिति: १३:२९ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्